संखुवासभाको धर्मदेबीमा नि:शुल्क जुनियर बिल्डिङ इलेक्ट्रीसियन तथा प्लम्बिङ तालिम सुरु
संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा नं. ३ मा अवस्थित धर्मदेबी सामुदायिक पुस्तकालयको आयोजनामा ३९० घण्टे निशुल्क जुनियर बिल्डिङ इलेक्ट्रीसियन तथा प्लम्बिङ तालिम सुरु भएको छ।
सोमबार पुस्तकालय परिसरमा आयोजित उद्घाटन कार्यक्रममा धर्मदेबी नगरपालिकाकी उप–प्रमुख तारा महत भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा शान्ति भोलेन्टियर एसोसिएसन र रिड नेपालका प्रतिनिधिहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने स्थानीय विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
तालिममा धर्मदेबी नगरपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला धनकुटाबाट समेत गरी ३८ जना भन्दा बढी युवाहरूको सहभागिता रहेको छ।
तालिम प्रदायक संस्था मेरी टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, पोखरा का अध्यक्ष सुदर्शन रेग्मीका अनुसार तालिम ६५ दिनसम्म दैनिक ६ घण्टाका दरले सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा बोल्दै शान्ति भोलेन्टियर एसोसिएसनका प्रबन्धक गणेश लामा ले जापान सरकार तथा स्थानीय सरकारको सहयोगमा पुस्तकालयले आयोजना गरेको यस तालिममा सहभागी सबै युवाहरूलाई लगनशील भई तालिम लिएर उत्कृष्ट नतिजा हासिल गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नगर उप–प्रमुख तारा महत भट्टराईले नगरपालिकाले पनि जीविकोपार्जनसँग जोडिएका यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै, सहभागीहरूलाई तालिमलाई आफ्नै लगानी सम्झेर जिम्मेवारीपूर्वक सीप आर्जन गरी स्वरोजगार बन्दै भविष्य सुरक्षित गर्न अनुरोध गर्नुभयो।
स्थानीय समुदायमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिममा नियमित रूपमा सहभागी भई सीप परीक्षण परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी सीटीईभीटीबाट मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्न सकिने धर्मदेबी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष भीम लिंखा ले बताउनुभयो।
उहाँका अनुसार यस तालिमले युवाहरूमा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्नेछ।
उद्घाटन कार्यक्रमको सहजीकरण पुस्तकालयका सचिव माधव सुवेदी ले गर्नुभएको थियो।-रेडियो नयां अभियान


