जेनजी आन्दोलन छानबिन : बालेनले दिए मानव अधिकार आयोगमा दुई घण्टा लामो बयान
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भई जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे बयान दिएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलन, त्यसक्रममा भएको बल प्रयोग, आगजनी तथा मानवअधिकार उल्लंघनका विषयमा छानबिन गरिरहेको आयोगले शाहलाई बयानका लागि बोलाएको थियो।
आयोग स्रोतका अनुसार सोमबार मेयर शाहसँग करिब दुई घण्टा लामो बयान लिइएको हो। बयानका क्रममा आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेका अभिव्यक्ति, सिंहदरबार आगजनीको प्रसंग, काठमाडौं महानगरपालिकाको सुरक्षा व्यवस्थापन, आगलागी नियन्त्रणका लागि दमकल समयमा नपुगेको विषयलगायतका प्रश्नहरू सोधिएको बताइएको छ। यद्यपि, बालेन शाहको सचिवालयका एक सदस्यले बयानका विषयवस्तुबारे आफूलाई विस्तृत जानकारी नभएको बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, बल प्रयोग र सम्भावित मानवअधिकार उल्लंघनका विषयमा छुट्टै छानबिन गरिरहेको छ। आयोगका अनुसार हालसम्म १४६ जनासँग बयान लिइसकिएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मी, प्रशासनिक अधिकारी, प्रत्यक्षदर्शी तथा राजनीतिक नेतृत्वसँग बयान लिने क्रम जारी रहेको आयोगले जनाएको छ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलन घटनाको छानबिनका लागि गठन भएको उच्चस्तरीय आयोगको म्याद एक महिना थप गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उक्त आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगलाई घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिइएको हो।
सरकारले गत ५ असोजमा आयोग गठन गर्दै जेन–जी आन्दोलनमा भएको बल प्रयोगलगायत घटनाको छानबिनका लागि सुरुमा तीन महिनाको समय दिएको थियो। तर निर्धारित समयमा काम नसकिएपछि आयोगको म्याद थपिएको हो। आयोगका अनुसार अधिकांश सम्बन्धित व्यक्तिहरूको बयान लिइसकिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान भने अझै लिन सकिएको छैन।
पूर्वप्रधानमन्त्री ओलीले जेन–जी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले बयान नदिने अडान दोहोर्याउँदै आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए। अर्कोतर्फ, तत्कालीन गृहमन्त्री रमेश लेखकले भने पूर्वसूचना पाएमा आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्न तयार रहेको संकेत दिएका छन्।
आयोगले संकलित बयान, प्रमाण र तथ्यका आधारमा उच्च तहका निर्णयकर्ताको भूमिकासमेत केलाएर निष्कर्षमा पुग्ने तयारी गरिरहेको जनाएको छ। जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई जवाफदेही बनाउने उद्देश्यका साथ छानबिन प्रक्रिया अगाडि बढिरहेको आयोगको भनाइ छ।


