कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले औपचारिक रूपमा यो घोषणा गरेका हुन्।

बैठकमा बोल्दै शर्माले आफू लगातार तीन पटक निर्वाचनमा उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबनी अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी गराए। उनले यसलाई पार्टीभित्र नयाँ नेतृत्व विकास र राजनीतिक संस्कार सुधारको प्रयासको रूपमा व्याख्या गरे।

शर्माले झापामा भएको आफ्नो पछिल्लो गतिविधिबारे उल्लेख गर्दै भने, “हिजो पुस ९ गते झापा पुगेको थिएँ। त्यहाँ क्षेत्रीय भेलामै ‘को उम्मेदवार बन्ने हो, दाबी गरेर अगाडि आउनुस्’ भनेर साथीहरूलाई आग्रह गरेको छु।” उनले एक वर्षअघि, ०८१ पुस २१ गते मेचिनगर–धुलाबारीमा आयोजित कार्यक्रममा पनि ०८४ को निर्वाचनमा आफू उम्मेदवार बन्न इच्छुक नरहेको घोषणा गरिसकेको स्मरण गराए।

झापा–१ बाट सर्वसम्मत सिफारिस भए पनि उनले त्यसका लागि क्षेत्रका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्दै भने, “फेरि पनि सर्वसम्मत सिफारिस गर्नुभएकोमा झापा–१ का आदरणीय साथीहरूलाई धन्यवाद दिन चाहन्छु।”

राजनीतिक संस्कारप्रति टिप्पणी गर्दै शर्माले भने, “आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुन्जेल क्षेत्र ‘कब्जा’ गर्ने सोच र सासले भ्याएसम्म मन्त्री भइरहने प्रवृत्ति हाम्रो राजनीतिमा छ। यो प्रवृत्ति भत्काउन जरुरी छ।”

आगामी निर्वाचनमा आफ्नो भूमिका बारे स्पष्ट पार्दै उनले भने, “गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ। यो पटक भने देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु।” साथै उनले चुनावमा नयाँ अनुहार लिएर जानुपर्नेमा जोड दिँदै युवाहरू र नयाँ नेताहरूलाई बढीभन्दा बढी अवसर दिन आग्रह गरे।

निर्वाचनको समयसारिणीबारे धारणा राख्दै शर्माले फागुन २१ गते निर्वाचन गर्न उपयुक्त वातावरण नबनेको बताए। “चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नुपर्छ, होइन भने सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा निर्वाचन गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ,” उनले भने।

संवैधानिक जटिलता समाधानका लागि वैकल्पिक प्रस्तावसमेत राख्दै शर्माले फागुन २१ मै सात प्रदेशका सात क्षेत्रमा आंशिक निर्वाचन गर्न सकिने सुझाव दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।