रबि,बालेन,कुलमान परिक्षण भइसकेका हुन्,जेनजीले एमालेको महत्व बुझिसके:एमाले महासचिव पोखरेल
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ भन्ने बहस निरर्थक भएको टिप्पणी गरेका छन्। उनका अनुसार राजनीतिमा दल नयाँ वा पुरानो हुनु भन्दा पनि नीति, एजेण्डा र गन्तव्य नै निर्णायक विषय हुन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीन शक्तिलाई ‘नयाँ’को आवरण ओढाउँदैमा राजनीतिक विकल्प तयार नहुने स्पष्ट पारे। “नीति र एजेण्डा बिना केवल नयाँपनको पगडी गुथाएर विकल्प खोज्नु भ्रम मात्र हो,” उनले लेखेका छन्।
उनले कुनै दलको इतिहास पुरानो भए पनि समयअनुसार नीति र नेतृत्व अद्यावधिक भइरहेमा त्यो दल सधैं सान्दर्भिक र जीवन्त रहने उल्लेख गरे। समयसँगै आफूलाई परिमार्जन गर्न नसक्ने राजनीतिक शक्तिहरू मात्र समाप्त हुने गरेको उदाहरण नेपाली राजनीतिमा प्रशस्त रहेको पनि पोखरेलको भनाइ छ।
“नेकपा एमालेसँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र दृढ संकल्प छ,” उनले भनेका छन्, “यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले पुराना दललाई हराउन नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने बहस अघि सारिरहेका छन्।”
‘को नयाँ ?’ भन्ने प्रश्न उठाउँदै पोखरेलले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङजस्ता पात्रहरू नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै रूपमा परीक्षण भइसकेको दाबी गरे। साथै, उनले जेन–जी समूहलाई कुनै संगठित राजनीतिक शक्ति नभई सूचना र प्रविधिसँग हुर्किएको एउटा उमेर समूह मात्र भएको टिप्पणी गरे।
पोखरेलले जेन–जीलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पुँजीवादी साम्राज्यवादी शक्तिहरूले विकास गरेको आरोप पनि लगाए। उनले भदौ २३ को प्रदर्शनमा संलग्न अभियानकर्ताहरू अहिले षड्यन्त्रविरुद्धको प्रतिवादका लागि एमाले नेतृत्वसँग निरन्तर संवादमा रहेको दाबी गरे।
“चौतर्फी घेराबन्दीका बाबजुद पनि नेकपा एमाले आज पनि नवयुवाहरूबीच ‘नयाँ’ भनिने शक्तिहरूभन्दा लोकप्रिय छ,” पोखरेलले दाबी गरे। पछिल्लो समय देशविरुद्ध भइरहेका षड्यन्त्रहरूबारे युवाहरू सचेत हुँदै गएको र त्यससँगै एमालेप्रति उनीहरूको प्रतिबद्धता बढ्दै गएको पनि उनले उल्लेख गरे।
उनले एमाले र यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको अनुभूति नवयुवाहरूले गर्न थालेको दाबी गर्दै नेपाललाई बंगलादेशजस्तै बनाउन खोज्ने प्रयासहरू असफल भएपछि पुराना दललाई हराउन नयाँहरू मिल्नुपर्छ भन्ने धारणा अघि सारिएको आरोप लगाए।


