विप्लव नेतृत्वको नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको अर्घाखाँचीस्थित कम्युनबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ।
शुक्रबार बिहान करिब १० बजेतिर शितगंगा नगरपालिका–११ बोक्से क्षेत्रमा गस्तीका क्रममा कोही नबस्ने एक गोठबाट जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा खटिएको टोलीले गोठ खानतलासी गर्दा दुई थान भरूवा बन्दुक, १४ वटा ग्रिनेड, १२ वटा डेटोनेटर, लामो लन्चरजस्तै देखिने तीन वटा प्लास्टिक पाइप, पाँच लिटर क्षमताको एक थान प्रेसर कुकर बम, एक थान स्टिल बम, चार बन्डल बिजुलीको तार र करिब ५०० ग्राम बारुद बरामद गरेको जनाएको छ।
भरूवा बन्दुक बाहेक अन्य विस्फोटक सामग्री नेपाली सेनाको सहयोगमा शुक्रबार नै सुरक्षित रूपमा डिस्पोज गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको, विस्फोटक कसको स्वामित्वमा थियो भन्ने विषयमा छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।(हिमाली पत्रिका)


