विराटनगरबाट स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका- १५ स्थित रानी विराटनगर सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान करिब ११:३० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं.१-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन् । उनले कुदाएकाे कारमा स्रोत नखुलेको १,००० का ४०० थान (४ लाख), ५०० का ३६० थान (१ लाख ८० हजार) र १०० का २०० थान (२० हजार) गरी जम्मा ६ लाख रुपैयाँ बरामद गरेको हाे ।
पक्राउ परेका अग्रवाल, उनले प्रयोग गरेको कार र बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


