नुहाउन भनेर गएकी २६ वर्षीय पूजाको लोहन्द्रा खोलामा भेटियो शव
मोरंग । मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा आइतबार राति १ जना युवतीको श,व भेटिएको छ ।
ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको श,व फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माझी नुहाउन भनेर खोलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नुहाउन भनेर गएकी उनको शव डुबेर मृत्यु भएको अवस्थामा राति १० बजेतिर फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी खोलाबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ ।
अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न बाँकी छ । उनी करिब १०–१२ वर्षदेखि छारेरोग (मिर्गी)को बिरामी रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् ।
उनको मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


