कुलमानले उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराउँदा अलमलमा थेगिम
विराटनगर । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएपछि पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका संरक्षक कुलमान घिसिङले सल्लाह र छलफल नगरी एकलौटी रूपमा पार्टी विलय गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पहिचानको आन्दोलन, धर्मनिरपेक्षता र सङ्घीयताको मुद्दालाई मुख्य एजेन्डा बनाउने सर्तमा आफूहरू उज्यालो नेपालमा आबद्ध भएको बताउँदै थेगिमले रास्वपासँगको यो ‘समाहित’ प्रक्रियाले ती मुद्दाहरूलाई अन्योलमा पारेको उल्लेख गरे ।उनले यसलाई ‘एकता’ नभई ‘विलय’ को संज्ञा दिँदै आफूहरू अहिले बिलखबन्दमा परेको बताएका छन् ।
पहिचानवादी मोर्चाका दुई प्रमुख नेतामध्ये डा. महेन्द्र लावती रास्वपाको समानुपातिक सूचीमा समावेश भइसकेका छन् । तर, थेगिमले भने घिसिङको कार्यशैलीले समग्र पहिचान र धर्मनिरपेक्षता पक्षधरहरूलाई अलमलमा पारेको दाबी गरे । आफूहरू आगामी राजनीतिक बाटोबारे छलफलमा रहेको थेगिमले जानकारी दिए ।


