निमुखा बर्गका लागि छुट्ट्याइएका कोटामा पनि मिस नेपाल बन्ने अवसर : आशिकाको आक्रोस
काठमाडौ । सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमार्फत नेपाली समाजमा विद्यमान गहिरो असमानता, वर्गीय विभेद र अवसरको अन्यायपूर्ण वितरणप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनको फेसबुक स्टाटस केही घण्टामै भाइरल बनेको छ र व्यापक बहसको विषय बनेको छ।
आशिकाले आफ्नो स्टाटसमा लेखेकी छन्, ‘मलाई त लाग्ने थियो नयाँ बाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन्। तर यस्तो त होइन रहेछ।’ भन्दै उनले सामाजिक संरचनामाथि प्रश्न उठाएकी छन्।
उनले विशेषगरी निम्न वर्ग, जाति र सीमान्तकृत समुदायका मानिसहरूका लागि अवसर असमान रहेको उल्लेख गर्दै, ‘यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्टाइएका कोटाहरूमा त मिस नेपाल हुने रहेछन्, तर आफ्नो सरसफाइ, देश बेचुवा ठेकेदारका छोरा, आफ्नै अगाडि पछाडि दौडिरहने आसेपासे, हुँइ हुँइ घिम्की र अडु व्यक्तिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ!’ भनी आक्रोश व्यक्त गरेकी छन्।
आशिकाको यो भनाइले सौन्दर्य प्रतियोगिता, राजनीति र सत्ता संरचनामा पहुँचको असमानतालाई एकैसाथ इंगित गरेको छ। उनले योग्य, संघर्षशील र इमानदार व्यक्तिहरूभन्दा पहुँच, शक्ति र आसेपासेको भरमा अवसर बाँडिने प्रवृत्तिको आलोचना गरेकी छन्।
उनको स्टाटसपछि सामाजिक सञ्जालमा समर्थक र आलोचक दुवै पक्ष सक्रिय देखिएका छन्। धेरैले आशिकाको भनाइलाई ‘साहसी सत्य’ भन्दै समर्थन गरेका छन् भने केहीले उनको शैलीप्रति असहमति पनि जनाएका छन्।
राजनीति र सामाजिक अभियानमा सक्रिय आशिका तामाङ पछिल्लो समय व्यवस्था, अवसर र प्रतिनिधित्वका विषयमा खुलेर बोल्दै आएकी छन्। उनको यो टिप्पणीले नेपाली समाजमा अवसर, समानता र न्यायका विषयमा पुनः गम्भीर बहस सुरु गराएको छ।


