समानुपातिक बन्दसूचीमा आफ्ना नातेदार नराखिएको कुलमान घिसिङको जिकिर
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै रास्वपासँग पार्टी मिसाएका कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बुझाइएको समानुपातिक बन्दसूचीमा आफ्ना नातेदार नराखिएको जिकिर गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै उनले समाचार र चर्चामा ‘भान्जा’ र ‘ससुरा’ भनिएका व्यक्तिहरू आफ्नो नाता नपर्ने बताएका हुन्।
उनले भान्जा भनिएका व्यक्ति आफ्नो भान्जा नभएको र उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएको स्पष्ट पारेका छन्।
‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्,’ घिसिङले लेखेका छन्, ‘त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।’
मन्त्री घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन्।
आफू सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद र कृपावादविरुद्ध निरन्तर उभिएको भन्दै उनले आफ्नो राजनीतिक यात्रालाई कमजोर पार्ने उद्देश्यले यस्ता नियोजित हल्ला फैलाइएको गुनासो गरेका छन्।
उनले बन्दसूचीमा देखिएका केही प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


