झापामा सार्वजनिक बाटोमै कट्टु खोलेर संवेदनशील अंग देखाउने व्यक्ति पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका–१ क्षेत्रमा विद्यालय जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटो छेकी जिस्क्याउने तथा आफूले लगाएको कट्टु खोलेर संवेदनशील अंग देखाई हैरानी दिएको आरोपमा मिति २०८२ साल पौष १३ गते अन्दाजी बिहान १० बजेको समयमा एक व्यक्ति पक्राउ परेका छन्।
घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पौष १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो।
प्रहरीका अनुसार अभियुक्तमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको करणी कसूर (बाल यौन दुर्व्यवहार) अभियोगमा अनुसन्धान अघि बढाइएको छ। सोही क्रममा सम्मानित जिल्ला अदालत झापाबाट मिति २०८२ साल पौष १६ गते पहिलो पटकका लागि ५ (पाँच) दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा अभियुक्तले यसअघि पनि सार्वजनिक बाटो तथा स्थानहरूमा विद्यार्थीहरूलाई लक्षित गरी संवेदनशील अंग देखाउने तथा अश्लील हर्कत गरी हैरानी दिने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।


