लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा अपराधी पदम अधिकारी विरुद्ध आजीवन कारावासको मागदाबी सहित अभियोगपत्र दर्ता
विराटनग ।मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्या प्रकरणमा संलग्न ठहरिएका ५९ वर्षीय पदमबहादुर अधिकारीविरुद्ध मोरङ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ। अभियोगपत्रमा अधिकारीलाई मुलुकी अपराध संहिता बमोजिम आजीवन कारावास र सात लाख रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ।
अधिकारी अंशुका छिमेकी हुन्। उनले गत असोज २१ गते बालिकालाई ललाई–फकाई जङ्गलमा पुर्याई बलात्कार प्रयास विफल भएपछि हँसियाले प्रहार गरी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ।
प्रहरी समक्ष दिएको बयानमा आरोपीले अंशुका बुवासँग विदेशमा काम गर्दै गरेको समयमा भएको पुरानो रिसइबी र तत्काल उत्पन्न यौन आवेगका कारण घटना घटाएको स्वीकार गरेको उल्लेख छ।उनका अनुसार बालिकालाई जङ्गलतर्फ घाँस काट्न जाने बहानामा लगेपछि जबर्जस्ती करणीको प्रयास गर्दा पीडितले प्रतिकार गरेकी थिइन्। प्रतिकारपछि कर्तुत बाहिरिने डर र लामो समयदेखि मनमा रहेको द्वेषका कारण हत्या गरेकाे योजना बनाएर शव झाडीमा फालेको बयानमा उल्लेख छ।
हत्यापछि उनले आफूलाई शंका नलागोस् भनेर स्थानीयसँगै खोजतलासमा सहभागी भएको नाटक गरेको, पछि घर छाडेर भारत हुँदै आसाम र मेघालयमा केही समय बसोबास गरेको तथा परिवारको निरन्तर फोन र प्रहरी सोधपुछपछि मात्र घर फर्किएको अभियोगपत्रमा उल्लेख छ।
मंसिर १८ गते घर फर्किएका अधिकारीलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनामा प्रयोग भएको हँसिया, साइकल, चप्पल, कपडा लगायतका सामग्री समेत प्रहरीले बरामद गरेको छ।मुलुकी अपराध संहिता २०७४ को दफा ४१(क) अनुसार क्रूरतापूर्वक ज्यान हत्या गरेको ठहर गर्दै अधिकारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, साथै जबर्जस्ती करणीको उद्योग मुद्दामा कानुन बमोजिम आधा सजाय र सात लाख रुपैयाँ जरिमानाको माग गरिएको अभियोगपत्रमा उल्लेख छ।
जरिवानाबापतको रकम पीडित राहत कोषमा जम्मा गरी मृतक परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने समेत मागदाबी गरिएको छ।
यसअघि अदालतले अधिकारीलाई पुर्पक्षका लागि मोरङ जिल्ला कारागार पठाउने थुनछेक आदेश जारी गरिसकेको छ। स्थानीय समुदायले दोषीलाई कानुनी कठघरामा उभ्याइएको यो कदमलाई न्यायतर्फको महत्वपूर्ण प्रगतिका रूपमा लिएका छन्।


