कांग्रेसको एकतर्फी दबाबमा अध्यादेश आयो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश एकतर्फी दबाबमा आएको टीप्पणी गरेका छन्। उनले अध्यादेश लोकतान्त्रिक मूल्य मान्यताविपरीत त्रुटिपूर्ण ढंगले जारी गरिएको भन्दै आपत्ति जनाएका हुन्।
‘अध्यादेश प्रमाणीकरण भइसकेको छ यो षड्यन्त्रपूर्ण, कपटपूर्ण, अलोकतान्त्रिक ढंगले ल्याइएको अध्यादेश हो’ सहिद हरि नेपाल चन्द्रपुरीको ३८औँ स्मृतिसभामा एमाले अध्यक्ष ओलीले भने। उनले राष्ट्रपतिले अध्यादेश जारी गर्दा कांग्रेसको एकतर्फी दबाबमा परेको समेत बताएका छन्। राष्ट्रपतिले अध्यादेशको विषयमा परामर्श गर्न खोज्दासमेत कांग्रेसले परामर्शमा सहयोग नगरेको टीप्पणी ओलीको छ।
‘राष्ट्रपतिले अध्यादेशमा परामर्श गर्दा कांग्रेसले सडकमा केटाहरू उफार्यो’ ओलीले भने। उनले कांग्रेस आफैँले भनेको काम गराउनको लागि मर्यादा नाघेको टिप्पणीसमेत गरे।
त्यस्तै, सरकारले गरेको नियुक्त्ति र निर्णयको विषयमा समेत ओलीले आपत्ति जनाएका छन्। ‘सरकाले जथाभावी पैसा बाँडेर राज्यको ढुकुटी रित्याउन खोजेको छ, मनपरी नुयुक्ति गरेको छ’ ओलीले भने। त्यस्तै, कांग्रेसले चुनाव हारेर पनि सत्ता छोड्न नचाहेको टीप्पणीसमेत ओलीको छ।


