घरबार सकेर ‘जुवा खेल्दै’ अलैची ब्यापारीहरु !

नारायण कुमार राई, धनकुटा खबर । चार जिल्लाको ब्यपारीक केन्द्र हिलेका अलैची ब्यापारीहरु घरबारबिहीन हुन थालेका छन् । बेलाबेलामा अलैचीको मूल्यमा आईरहने उतवचढावले हुने ब्यपारीक घाटाका कारण उनीहरु बिचल्लीमा पर्न थालेका छन् ।

ब्यपार घाटा तिर्न कितपय बिदेश लागेका छन् भने कोहि भएको घर घडेरी बेचर अन्यत्र लाग्न थालेका छन् । बाँकी रहेकाहरुको कतिपयलाई बैंकले कहिले घर–जग्गा लिलाम गर्ने भन्ने पीर छ भने कतिले बैंकको ऋण तिर्ने प्रयास गरिरहेका छन् । गएको ३–४ बर्ष यता प्रति मन(४० के.जी) १ लाख २० हजार सम्म बिक्री भएको अलैची, मूल्य गिरावट संगै २७ हजारमा झरेर अहिले पुनः ३३ हजारमा छ ।

यो मूल्य अस्थिरता आज मात्र हैन डेढ दशक अघि पनि यस्तै अस्वभाविक कायम थियो । अलैची ब्यबसायी संघ हिलेको तथ्यांक अनुसार २०५७ सालमा प्रति मन ७ हजार रहेको अलैची २०६० सालमा २२ हजार पुगेको थियो ।

तर उक्त मूल्य उक्त बर्ष नै अचानक घटेर ४ हजारमा पुगेको थियो । पुन ः उक्त मूल्य बढेर २०६७ सालमा ३५ हजार हुंदै २०७१ मा आईपुग्दा ६५ हजार भयो । तर उक्त मूल्य अचानक १ लाख २० हजार पुगेर चालु आर्थिक बर्षको सुरुवाततिर २७ हजारमा झरेको थियो ।

यसरी अस्वभाविक हुने मूल्य बृद्धि र गिरावटका कारण पूर्वी पहाडी जिल्लाहरु भोजपुर,संखुवासभा,तेह्रथुम र ताप्लेजुङ्ग क्षेत्रमा उत्पादित अलैचीलाई केन्द्रित गरेर ब्यपार गर्ने हिलेका ब्यपारीहरु संकटमा परेका हुन् ।

राम्रो कमाईको सम्भावना देखेर घर जमिन बैकमा धितो राखेर अलैची ब्यपारमा गरेको लाखौको लगानी अहिले जुवाको खाल जस्तै बनेको छ ।

‘जुवा तास खेलेर घरबार सकेको त हैन तर यो ब्यपार जुवा खेल जस्तै भयो’– हिलेका पुराना ब्यपारी शेर बहादुर राई दुखः मिसिएको भावमा ठट्टा गर्छन् । संखुवा सभा घरभई २०५२ साल देखि शान्ति ट्रेडर्स हिले मार्फत् अलैची ब्यपार गर्दै आईरहेका ६५ बर्षिया राईले अलैची ब्यपार गरेर अहिले सम्म ४२ रोपनी जमिन र ३ घर सकिसकेका छन् ।२०५९ र ०६० सालमा आएको मूल्य उतावका हुंदा ८२ लाख रुपैंया ब्यपार घाटा चुक्ता गर्न उनले घर घडेरी बेचेको बताए ।

संखुवासभा जिल्लाको खाँदबारीको ४१ रापनीमा भएको घर र हिले बजारमा ८–८ आनामा बनाएको २ वटा घर घडेरी बेचेको बताए । ‘उमेर भएको भए म अरु पेशामा लाग्थे,तर जानेको काम छाडेर अरु शुरु गर्न गाह्रो भएकोले यहि पेशा थामेर बस्नुको उपाय छैन ।’ –उनले भने ।

२०७१ सालमा राष्ट्रिय बाणिज्य बैकबाट ऋण लिएर गरेको ब्यपारमा ४८ हजार संकिदा समेत कुनै नाफा नभएकाले बाँकी भएको घर भएको २ रोपनी जमिन पनि बेच्ने अबस्था आईसकेको उनले बताए । बार्षिक १२ करोडको सम्म अलैची निर्यात गर्ने उनी भन्छन्–जुवाको खाल झैं भयो अलैची ब्यपार,एक दिन त मर्छ की भन्दै दाउ थाप्यो घरबारी गएको थाहै हुन्न ।’

उता २०४६ सालबाट अलैची ब्यपार गर्दै आएका ५६ बर्षिया बाबुराम राईको अलैची ब्यापारबाट लागेको ऋणकै कारण थप चिन्ता र बिमारले दुबै किड्नी फेल भएर गत बर्ष मृत्यु भयो ।

माछापुछ्रे बैकबाट १८ लाख ऋण लिएर अलैची ब्यपारमा गर्नेक्रममा २०७१ सालपछि भएको ब्यपार घाटाका कारण आफ्नो पति थप बिरामीमा परेर देहान्त भएको उनकी पत्नी सविना राईले जानकारी दिए । १२ लाख रुपैंया ब्यपार घाटा लागे संगै ब्यपार छाडेर हाल किराना पसल गरिरहेकी श्रीमती राईले उक्त ऋण चुक्ता गर्न हिले स्थित घर सहितको १२ आना जमिन बेच्न लागेको जानकारी दिईन् ।

त्यस्तै हिलेकै अलैची ब्यपारी मण्डल राई अलैची ब्यपारका लागि राष्ट्रिय बाणिज्य बैंकबाट लिएको रकम तिर्न नसकेपछि ऋण चुक्ता गर्न बैदेशिक रोजगारमा गएकाछन् । आठ बर्ष अघिबाट ब्यपारबाट जिविको चल्दै आएपनि गएको तीन बर्ष यता देखि भएको ब्यपार घाटा तिर्न नसक्ने भएपछि बैंकको ऋण तिर्न उनी यस बर्ष कुवेत गएका छन् ।

हिलेको न्यूरोडका ८ आनाको घर जमिन राखेर ब्यपार शुरु गरेका उनीहरुको ७ लाख रुपैंया ऋण तिर्न बाँकी भएको मण्डलकी श्रीमती सुशिला राईले जानकारी दिईन् । ‘बैकको ऋण तिर्न ३ बर्ष लाग्छ रे !’–श्रीमानको दुखेसो सुनाईन् उनले ।

अलैची ब्यबसायी महासंघ धनकुटा शाखा हिलेका अनुसार अहिले हिलेका एक दर्जन भन्दा बढी ब्यपारीहरु ब्यापार घाटाको संकटमा छन् । शाखाका अध्यक्ष ईन्द् तितुङ्गका अनुसार नेपाली अलैचीको बिश्व बजारमा बेग्लै जात नहुनु र नेपालको अलैचीमा भारतको एकद्वार ब्यपार कायम हुंदा यस्तो अबस्था आएको हो ।

‘भारतका केहि ब्यपारीहरुले तेस्रो मुलुक जाने नेपालको अलैचीमा मिसावट गररे निर्यात गर्दा मुल्य गिरावट आएको हो’,उनले भने–‘यसको असर ब्यपारी र किसान दुबैलाई करोडौ घाटा लागेको छ ।’

पहिला माग बढी उत्पादन कम भएकोले मूल्य बढेको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए । तर अहिले उत्पादन बढी माग उहि कायम रहेकोले गुणतरमा सुधार भएपनि मूल्य ३० हजारमा स्थिर रहेकोे उनको भनाई छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७४÷०७५ मा धनकुटामा ९७ मेट्रिक टन अलैची उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

देश संघियतामा गएपछि पछिल्ला २ बर्षको जिल्लाको तथ्यांक छैन । तथापी धनकुटाबाट २६ करोड १० लाख बरावरको १ सय ४५ मेट्रिक टन अलैची जिल्ला बाहिर निकासी भएको साविक कृषि बिकास कार्यालय तथा हाल कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖