पाख्रीवास-८ को स्वास्थ्य शिविरबाट ५ सय १० जना लाभान्वीत
शर्मिला राई, धनकुटा खबर, पौष २१ । धनकुटाको पाख्रीवास नगरपालिका ८ मुगामा सञ्चालित दुईदिने निःशूल्क स्वास्थ्य शिविरमा ५ सय १० जनाले स्वास्थ्य सेवा लिएकाछन् ।
पाख्रीवास नगरपालिकाको आर्थिक सहयोग तथा पाख्रीवास ७ र ८ नं वडा को संयुक्त आयोजनामा सञ्चालित शिविरमा हिजो र आज गरी उल्लेखित संख्याका सर्वसाधारणले स्वास्थ्य सेवा लिएको शिविर आयोजक मध्येका एक ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।
शिविरमा पाख्रीवास नगरपालिकाका विभिन्न वडा सहित शहिदभूमि गाउँपालिका, भोजपुरको हतुवागढी गाउँपालिका र तेह्रथुम जिल्लाका समेत केही सर्वसाधारणले सेवा लिएको उहाँले वताउनुभयो ।
ग्रामीण भेगका सर्वसाधारणहरुलाई सुलभ स्वास्थ्य सेवा दिने लक्षका साथ आयोजित शिविरमा स्त्री तथा वालरोग,आँखाको समस्या,छाला रोग,यौन तथा कुष्ठ रोग,अल्ट्रासाउण्ड,नवजात शिशु तथा वाल रोग लगायतको उपचार सेवा प्रदान गरिएको थियो ।
शिविर सञ्चालनका लागि प्राविधिक सहयोग गरेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटललाई आज शिविर समापनको अवसरमा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको मुगा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ । शिविरमा विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटल विराटनगरका प्रशासन प्रमुख आवास श्रेष्ठ नेतृत्वको २७ जना चिकत्सकको टोलिले सेवा दिएका थिए ।
शिविर समापन कार्यक्रममा ७ नं वडाध्यक्ष फडिन्द्र तामाङ,पाख्रीवासका स्वास्थ्य प्रमुख मोहम्मद स्माईल लगायत वडा सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन ८ नं वडा सचिव दिपेन्द्र गौतमले गर्नुभएको थियो ।


