धनकुटामा जारि प्रदेश स्तरीय महिला फुटवल : धनकुटा र झापा सेमिफाइनलमा
धनकुटा खबर, ४ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न खेलमा धनकुटा र झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा भएको पहिलो खेलमा इलामलाई ट्राईबे्रकरमा ५–४ गोलअन्तरले पराजित धनकुटा सेमिफाइलनमा पुग्न सफल भएको हो ।
निर्धारित समय गोलरहित वरावरिमा सकिएपछि खेल ट्राइव्रेकरमा पुगेको थियो । ट्राइव्रेकरमा धनकुटाको तर्फ सुस्मिता राई, अन्जना थुलुङ राई, सुनिता तामाङ, अनिता लम्जेलले गोल गरेकी थिइन् ।

यस्तै इलामको तर्फबाट इलामवाट केसिका राई, सुजन खवास, सोमरानी वान्तवा, अनिता राई मात्रै गोल गरिन् । प्रिया राईको प्रहार धनकुटाकी गोलकिपर सुस्मिता राईले रोकेकी थिइन् ।
सो खेलको वुमन अफ दी म्याच धनकुटाकी विपना राई घोषित हुँदै नगद ३ हजार र प्रमाण पत्र पाइन् । त्यस्तै दोस्रो खेलमा झापाले पाँचथरलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । झापाको जीतमा कुसुम खतिवडा, सम्झना लावती मुना र सरिता शेर्पाले गोल गरेका थिए ।

सो खेलको वुमन अफदी म्याच झापाकी सम्झना लावती मुना घोषित भइन् । आइतवार उदयपुर र ताप्लेजुङ फुटवल टिम वीच प्रतिस्पर्धा हुने छ ।


