भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

काठमाडौँ, १० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो ।

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् । मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले विरोधसमेत जनाएका थिए ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ ।

पशुपति क्षेत्रमा गत वर्षदेखि नै विदेशी पर्यटक आएका छैनन् । विसं २०७६ चैतदेखि पशुपति क्षेत्रका सबै पर्यटक टिकट काउन्टर बन्द छन् । कोरोनाका कारण पर्यटक आउन छाडेपछि पर्यटक गाइड तथा पर्यटकका लागि लक्ष्य गरी विभिन्न सामग्रीको व्यापार व्यवसाय गरेकाहरुसमेत मर्कामा परेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।