मन्त्रिपरिषद् विस्तार कहिले ? नेपाल पक्ष पनि सरकारमा सहभागी हुने

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् ।

चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई/दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले क्याबिनेट पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ ।

मन्त्रिपरिषद् विस्तार कहिले ?
सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटकाहरूलाई दिएका छन् ।

यसैगरी, नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन सत्तारूढ दलहरूले प्रयत्न गर्दै आइरहेका छन् । सो प्रयासमा प्रधानमन्त्री देउवा आफैं लागेका छन् भने माओवादी अध्यक्ष दाहाल पनि लागिपरेका छन् ।

एमालेको माधव समूह सरकारमा ल्याउनेगरी सत्तारूढ दलबीच भागबन्डाको तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन् । यस्तै, जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ ।

मन्त्रीका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारिरहेका छन् । देउवासँग कांग्रेसभित्रैको रामचन्द्र पौडेल समूहले पनि उपप्रधानसहितको मन्त्रालयमा दाबी गर्दै आइरहेको छ ।

स्रोतका अनुसार मन्त्रालय भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । यसैगरी, माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६÷६ मन्त्रालयमा संवाद भइरहेको छ ।

यस्तै, नेकपा एमालेको नेपाल समूहलाई ५ वा ६ मन्त्रालय दिने विषयमा शीर्ष तहमा आन्तरिक छलफल भइरहेको छ । तर, अन्य दलहरू पनि सरकारमा सहभागी हुन सक्ने भन्दै संख्याको टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् ।

कांग्रेसले अब आफूले लिएका बाहेक अब चार मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

कांग्रेसको संस्थापन समूहबाट डा. नारायण खड्का, डा. डिला संग्रौला, मीन विश्वकर्मा देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह आकांक्षी छन् । यीमध्ये संग्रौला, खड्का र विश्वकर्माको सम्भावना बढी छ । विश्वकर्मा मन्त्री नभए देउवाले विश्वकर्मालाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाउन सक्छन् ।

संस्थापनइतर समूहले भने महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । यीमध्ये सुजाताको सम्भावना बढी छ । उनी परराष्ट्रमन्त्रीसँगै उपप्रधानमन्त्री हुने सम्भावना छ । सो समूहबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्रीका लागि चर्चामा छन् ।

यस्तै सिटौला समूहबाट सांसदहरू गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको नाम चर्चामा छ । सिटौलाले प्रधान र चौधरीमध्ये एकलाई मन्त्री बनाउन चाहेका छन् । तर, उनले कुनै निर्णय भने गरिसकेका छैनन् । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।