थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक

राँझा, २७ भदौ । पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु अगुवा चन्द्र थारुले बताउनुभयो ।

उहाँका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्टयाएर बाँकी भाग वर्तालुले खाने चलन छ ।

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो पर्वका रुपमा रहेको उहाँको भनाइ छ ।

थारु समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

अटवारी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकाले आज र सोमबार गरी दुई दिन स्थानीय बिदाको निर्णय गरेको छ । गाउँपालिकामा ठूलो सङ्ख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा थारु समुदायको बाहुल्यता रहेका दाङ, बाँके र बर्दियाका अन्य स्थानीय तहले समेत अटवारी पर्वका अवसरमा स्थानीय बिदाको निर्णय गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।