‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

पूर्णप्रसाद मिश्र/काठमाडौँ, ७ कात्तिक (रासस) ः काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो । यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्दी प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथै भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमेबाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए ।

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो । मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो ।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।