ताप्लेजुङको फुङ्लिङ सुकेटार क्षेत्रमा फुलेको लालीगुराँस फूल

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—९ स्थित सुकेटार क्षेत्रमा फुलेको लालीगुराँस फूल । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेर फागुनको अन्तिम चैतमा फुल्ने लालीगुराँस माघमै ढकमक्क फुलेको छ । गत वर्षहरुमा चैत, वैशाखमा यस क्षेत्र गुराँस फुल्ने गथ्र्यो । तस्बिरः दिलकुमार लिम्बू÷रासस

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा
–धनबहादुर गुरुङ
अन्नपूर्ण (कास्की), २ फागुन (रासस)ः विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली धेरै गाउँबाट बिस्तारै हराउन थालेको छ ।

लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका–१६ अर्मलाकोट गाउँमा अझै कायमै छ । यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहनुभएको छ । छयत्तर वर्षका उहाँको स्वरमा ठिटोको जस्तो दम छ । कटुवाल जैसीको आवाजले अर्मलाकोटका ७० घर परिवारको कान ठाडो ठाडो हुन्छ । उहाँको आवाज गुन्जिएपछि गाउँलेहरुले गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् ।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा सूचना पु¥याउने काम जैसी नै गर्नुहुन्छ । उहाँको कामलाई अर्मलाकोटमा ‘घोक हाल्ने’ भनेर बुझिन्छ । पछिल्लो समयमा त्यस गाउँको होमस्टेमा पाहुना जाँदा जैसीको दिन गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । “गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला कि भनेर तीन ठाउँमा गएर घोक हाल्छु”, उहाँ भन्नुहुन्छ, “गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, बैठक, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा घोक हाल्ने हो ।”

यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परा कायमै रहँदा जैसीलाई भ्याइनभ्याइ भएको हो । गाउँलेले कटुवालको कामका लागि छनोट गरेकाले उहाँले विगत पाँच वर्षदेखि यो काम थाल्नुभएको हो । “मभन्दा पहिला शेरबहादुर परियारले यो काम गथ्र्यो”, कटुवाल भन्नुहुन्छ, “उसले के बेइमान गरेछ अनि मैले नै गर्न थालेको हुँ । शेरबहादुरभन्दा पहिला पनि मैले नै गर्थें ।”

अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउनुहुन्छ । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाएपछि बल्ल ढुक्क हुन्छु,” उहाँ भन्नुहुन्छ ।

गाउँमा पाहुना आएपछि सबैलाई फोन गरिराख्नुभन्दा कटुवाल घोकाउँदा सजिलो हुने अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङको भनाइ छ । सूचना र प्रविधिको युगमा धेरै स्रोत साधन भए पनि परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उहाँको तर्क छ ।

जैसीभन्दा अगाडि शेरबहादुर परियार, सिंहबहादुर परियार, काजीमान नेपाली र कृष्णबहादुर परियारले कटुवालको काम गरिसकेको कटुवाल जैसी जानकारी दिनुहु्न्छ । “गाउँमै कटुवालको काम गर्न पाउँदा उहाँलाई पनि खुसी लागेको छ । नजिकका अरू गाउँमा कटुवाल प्रथा छैन । यो प्रथालाई जोगाएर राख्नुपर्छ भनेर लागेको छु”, जैसी भन्नुहुन्छ, “तर परिश्रमिकमा भने आफ्नो चित्त बुझेको छैन ।’’

कटुवाल घोकेबापत जैसीले प्रत्येक घरबाट दिने दुई पाथी कोदो बाली उठाउनुहुन्छ । सत्तरी घरबाट कोदो उठाउँदा करिब सात मुरी कोदो जम्मा हुन्छ । दुई छोराहरु बजार झरे पनि आफू र श्रीमती पालिन यसले नपुग्ने गरेको उहाँको गुनासो छ । जैसी भन्नुहुन्छ, “सात मुरी कोदोले पुग्न त पुग्छ नि तर कोदो मात्र खाएर भएन तरकारी कताबाट ल्याउने ?”, कटुवाललाई प्रथाको रुपमा नराखेर अब पेसा बनाउनुपर्नेमा उहाँको जोड छ । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जीविकोपार्जनमा सहयोग पुग्ने जैसीको भनाइ छ ।

पोखरा महानगरभित्र रहेको कटुवाल प्रथा जोगाउने पक्षमा गाउँवासी रहे पनि वडा कार्यालयबाट अहिलेसम्म कुनै योजना नबनाइएको पोखरा–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना बताउनुहुन्छ । “यो एउटा संरक्षण गर्नुपर्ने प्रथा हो, दूरदराजका ठाउँमा टेलिफोनको सबै सुविधा पनि सबैसँग छैन्”, वडाध्यक्ष तिमिल्सिना भन्नुुहुन्छ, “हिजोको प्रथा जोगाउने कि परिमार्जन गर्ने भन्ने सवाल उठेको छ ।”

कटुवालजस्तै अन्य प्रथा पनि महानगरभित्र रहेकाले ती प्रथा खोजी गर्दै महानगर कार्यालय नै संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ । “धेरै ठाउँमा यस्तो प्रथा देख्नै पाइँदैन । यसलाई जीवन्त राख्न सकियो भने हाम्रो परम्परा धानिन्छ”, वडाध्यक्ष तिमिल्सिना भन्नुुहुन्छ, “अहिलेको पुस्ताले त धानिरहेको छ । अब आउने पुस्ताले यो काम गर्छ कि गर्दैन भन्ने चुनौती पनि छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖