भट्टराई दम्पत्तिबाट धनकुटाले सिकोस्
जीवनप्रसाद राई । मानिसको स्वभाब अक्सर स्वार्थी र अवसरबादी नै हुने गर्दछ । पढेपछि हलो छोड्ने र कमाए पछि थलो छोड्ने धेरै नेपालीहरुको बानी हो । यसमा धनकुटा पहिलो पंक्तिमा कहलिएको जिल्ला पनि हो । पहिला पहिला यहाँबाट काठमाण्डौ सम्म जाने चलन थियो तर अहिले बिदेशै पलायन हुने चलन आएको छ । यहाँका प्राय शिक्षक र प्राध्यापकहरु अवकास जीवन धनकुटामा बिताउन चाहदैनन र धेरै पढेलेखेका ब्यक्तिहरु ब्यावसाय गर्न पनि चाहदैनन । तर यसको धेरै ठुलो अपबादको रुपमा भट्टराई दाम्पतीलाई लिन सकिन्छ ।

(जीवन प्रसाद राई)
प्रभा पौडेल भट्टराई शिक्षाशास्त्र अंग्रेजीमा स्नातकोत्तर गरेकी ब्यक्ति हुन । जीवनमा उनीले पनि अरुले जस्तै सरकारी जागिरमा पहल नगरेका होईनन तर परिस्थिति र अवस्थाले उनलाई त्यो जुरेन ।
उनी निरन्तर रुपमा सरकारी जागिरकै लागि लागेका भए त्यो असम्भब पनि थिएन तर उनले सरकारी जागिर भन्दा ब्यावसायलाई उत्तम मानेर यसैमा रमाउन थालिन । समाजमा एउटा नमुना प्रस्तुत गर्न उचित ठाने र ब्यवसाय शुरु गरे ।
हाल उनले नुनथला फार्मस्टे संचालनमा ल्याएका छन । यो ब्यावसाय होमस्टे हो । तमोर वारिका लागि यसप्रकारका ब्यावसाय एकदमै नयाँ हो अनि अति आवश्यक पनि । उनीले केही बर्ष पहिला नै लोकल कुखुरा फार्म र एभोकाडो फार्मको समेत शुरुवात गरेका थिए । हाल उनी संग १३ बेड क्षमताको फार्मस्टे रहेको छ भने २ हजारको संख्यामा लोकल कुखुराहरु रहेको फार्म समेत छ । त्यति मात्रै होईन २० वटा स्थानीय जातको खसी, ५ रोपनी क्षेत्रफलमा फलिरहेको एभोकाडो फार्म समेत रहेको छ । कोदो रोपिएको बारी र फार्मस्टेमा आउने पाहुनाहरुलाई खुवाउनका लागि लगाईएको तरकारी पनि प्रसस्त्रै देख्न सकिन्छ ।
प्रभा पौडेल भट्टराईका श्रीमान् हुन नगेन्द्र भट्टराई उनी पनि अंग्रेजी साहित्यमा एमए गरेका ब्यक्ति हुन । यसका साथै उनी सरकारी माध्यमिक बिधालयका प्राचार्य समेत हुन । बिदाको समयमा प्राचार्यले फार्मका र घरका काममा प्रसस्त्रै समय दिने गर्दछन ।
बर्तमान नेपाली परिवेशमा उनी ए मोडल अफ गुड टिचर हुन । जुन रुपमा भट्टराई दाम्पतीले धनकुटा नगरपालिका वडा नम्बर ४ देब्रेबास नुनथलामा लगानी गरेका छन यसबाट समग्र धनकुटा बासीले महत्वपुर्ण सिको गर्नुपर्ने देखिन्छ । भट्टराई दम्पत्तिको भित्री मनस्थिति कुनै हालतमा पनि धनकुटा नछोड्ने यही नै उदाहरणीय कार्य गर्ने भन्ने रहेको ब्यबहारले देखिन्छ ।
यहाँका नियमित रुपमा आम्दानी गर्ने सरकारी शिक्षक, प्राध्यापकहरु धनकुटामा अवकास पछि बस्ने मनस्थितिमा हुदैनन । उनीहरु काठमाण्डौ, बिराटनगर बस्नका लागि पहिला देखि नै तयारी भएर बसेका हुन्छन । तर नगेन्द्र भट्टराई यसभन्दा भिन्दा सोच राख्छन र धनकुटा जहाँ आफ्ना पुर्खहरुले जोडिदिएको सम्पत्तिलाई परिचालन गरेर बडेमानको नयाँ बिषयमा सिर्जना गर्न चाहन्छन । ब्यावसायको माध्यमबाट प्रसस्त्रै मात्रामा रोजगारी सिर्जना गर्न खोज्छन । जुन धनकुटाका लागि अति आवश्यक बिषय हो ।
भट्टराई दम्पत्तिको सबै ब्यावसायमा गरि संरचना निर्माणका लागि मात्रै २ करोड ५० लाख गरिसकेका छन । यसैगरि फार्मस्टेका लागि मात्रै १५ लाख भन्दा बढी लगानी गरिसकेको उनीहरु बताँउछन । फार्मस्टे संचालनका लागि सक्दो राम्रो प्रयास भएको देखिन्छ । यसबाट धनकुटा सदरमुकामले शताब्दीयौ देखिको मुहार नसकेको फेर्ने कसरतमा दाम्पतीले कार्य गरेको देखिन्छ । हेर्दा सामान्य र सानो कार्य वा ब्यावसाय जस्तो देखिए पनि यसबाट मध्य पहाडि जिल्लालाई आर्थिक रुपमा चलायमान वा परिवर्तन ल्याउनमा यस नुनथला फार्मस्टे, होमस्टेले ज्यादै महत्वको कार्य गरेको बिश्लेषण गर्न सकिन्छ ।
नगरपालिका नै भएपनि धनकुटाको धेरै क्षेत्रहरु ग्रामिण क्षेत्रको रुपमा परिभाषित गर्न सकिन्छ । ग्रामिण क्षेत्रलाई आर्थिक रुपमा रुपान्तरण गर्नका लागि यसप्रकारका होमस्टेले ज्यादै महत्वपुर्ण रोल खेल्ने गरेको हुन्छ । बर्षौ पहिलाबाट नै धनकुटाले यसप्रकारका अवसरहरु छोप्नुपर्नेमा भरखरै मात्र शुरुवात हुनु ज्यादै ढिला भएपनि सुखद् हो । धनकुटा बजार आसपास यसप्रकारका कार्यहरु संचालन हुनु ज्यादै सुखदको संकेत हो ।
होमस्टे, फार्मस्टे होटलको मात्रै सेवा दिने थलो होईन । यस ठाँउमा स्थानीय उत्पादनहरुको बजारीकरण गर्ने, पुराना सीप, कला, संस्कृति, रहनसहन र रीतिरिवाजहरुको प्रबर्धन गर्ने थलो पनि हो । यसको मर्म र महत्व ज्यादै ठुलो रहेको छ । यसमा स्थानीय तहहरुले महत्वका साथ प्रबर्धन गर्नुपर्ने देखिन्छ । कोशी प्रदेशको पहाडि क्षेत्रका लागि त झनै यो अनिवार्य नै हो ।
नुनथला फार्मस्टेको सबैभन्दा सबल पक्ष के हो भने दरिलो आत्मविश्वासका साथ लगानी भएको छ । कतै ढुलमुल र निराशाजनक कुराहरु सुनिन्दैन । ब्यावसायका लागि यो सबैभन्दा राम्रो गुण र सुत्र हो । यसैगरि यस फार्मस्टेले सदरमुकाम भएको नाताले सबैभन्दा बढी फाईदा लिन सक्दछ । लोकसेवा आयोग तथा प्रशासनिक कामले धनकुटामा आउने ब्यक्तिहरुका लागि यो होमस्टेले महत्वपुर्ण सेवा प्रदान गर्न सक्दछ । यसमा समग्रमा धनकुटाका नेतृत्व बर्ग, गन्यमान्यजन लगायतले यसको प्रचार प्रसारमा सक्दो प्रयास गरिनु पर्दछ । नकि नुनथला होमस्टेले कमाउनका लागि किन हामीले प्रचार गरिदिनुपर्ने भन्ने सोचहरु तत्काल परिबर्तन हुनुपर्दछ ।
धनकुटाका नेतृत्व बर्गमा सोचाईको कमी प्रसस्त्रै मात्रामा देखिन्छ । पर्यटन प्रबर्धनका कार्यहरुलाई तिव्रताका साथ बिस्तार गर्नका लागि प्रोत्साहन गरौ र देशी बिदेशी पर्यटकहरु धनकुटा भित्राउनका लागि पहल पनि गरौ । जय धनकुटा ।










(लेखक बिगत १५ बर्ष देखि कृषि पर्यटन बिषयमा गहिरो खोज अनुसन्धान गरिरहेका ब्यक्ति हुन । यस बिषयमा ८ बर्ष लगाएर देशको ७७ वटै जिल्ला पुगेर लेखेको पुस्तक संमृद्धिका आधार चर्चामा रहेको पुस्तक हो ।- सम्पादक )


