तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

नवलपुुर, २ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो ।

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ ।

मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताउनुभयो । “पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उहाँले भन्नुभयो, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।”

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उहाँले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिनुभयो । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उहाँले भन्नुभयो, “गएको फागुनमा मन्दिर निर्माण सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।”

कैलाश सन्यास आश्रममा भेटिएको १३औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताउनुभयो । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए”, उहाँले भन्नुभयो, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।”

बुद्धको मूर्ति पुरातत्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताउनुभयो । “मन्दिर पुनः निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो”, उहाँले भन्नुभयो, “विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुनः निर्माण गर्ने बताएको छ ।”

नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेषमात्र देखिएको उहाँले बताउनुभयो । “हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गर्नुभएको हो, हामी सानै थियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरु देखिन्थे ।”

धर्तीपुत्रका रुपमा रहेका यहाँका आदिवासी थारू समुदायले समेत मन्दिर नदेखेको बताउँछन् । सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबाले समेत यहाँ मन्दिर नदेखेको बताउनुभयो । “यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ”, उहाँले भन्नुभयो, “यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन ।”

पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताउनुभयो । यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ । “यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाट समेत व्यापारी यहाँ आउने गरेका थिए ।”

सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताउनुभयो । ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उहाँको भनाइ छ । “यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ”, उहाँले भन्नुभयो, “साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम रु ५० हजार बढी सङ्कलन हुने गरेको छ ।”

पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उहाँले बताउनुभयो । मन्दिर सञ्चालनका लागि रु एक करोडको अक्षयकोष निर्माण गर्नेगरी समिति अगाडि बढेको भन्दै उहाँले हालसम्म अक्षयकोषमा रु ७५ लाख जम्मा भइसकेको बताउनुभयो । “आश्रममा एकजना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर निःशुल्क भोजन ग्रहण गर्नुहुन्छ ।”

पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ । सिख्रौलीघाटको ठीक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ । सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्व बढ्ने स्थानीयको बुझाइ छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖