एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीलाई किन उपेक्षा ?
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधवार बिहान ७ बजे नै ‘महासचिवसँग कफी र कुरा’ शीर्षकमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरे । प्रचार तथा प्रकाशन विभाग कर्णाली प्रदेशको आयोजनामा गरेको उक्त कार्यक्रममा पोखरेलसँग समसामयिक विषयमा ‘कफी र कुरा’ गर्ने भनिएको थियो ।
नयाँ तरिकाले आयोजना गरिएको उक्त कार्यक्रमका करिब ४५ मिनेट पत्रकारहरूले एमालेका गतिविधि र विशेषगरी एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीलाई उपेक्षा गरिएको विषय उठाए ।
यति मात्र होइन, ०७९ पुसमा एमाले–माओवादी गठबन्धनको सरकार बन्दै गर्दा पोखरेलले नै कर्णालीमा एमाले नेतृत्वको सरकार बनाउन नचाहेकाले माओवादीको नेतृत्वमा सरकार गठन गर्नुपरेको विषयले चर्चा पायो । पोखरेलकै कारण यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गर्न नपाएको प्रश्न पत्रकारले राखे ।
पत्रकारका प्रश्न र जिज्ञासा सुनेपछि पोखरेलले कर्णालीमा एमाले बलियो राजनीतिक दल भएर पनि राष्ट्रिय राजनीतिमा उपस्थित हुन नसक्नु, सरकारको नेतृत्व लिन नसक्नु लगायतका विषयमा प्रस्ट पार्ने कोसिस गरे ।
उनले प्रदेश सरकारको नेतृत्वको विषयमा उठेको प्रश्नमा आफूबाट त्यस्तो कुनै कार्य नभएको दाबी गरे । ‘महासचिवले नै कर्णालीलाई पेलेको हो कि भन्ने कुरा आयो, त्यो सत्य होइन,’ उनले भने,‘ त्यो बेला कर्णालीमा माओवादीले नछाड्ने भयो, स्वयम् प्रचण्डज्यूले नै कर्णालीमा माओवादीले नेतृत्व छोड्नै सक्दैन, पाउनुपर्छ भनेकाले सम्भव भएको हैन ।


