पूर्व निर्वाचन आयुक्त शाहको बयान: श्रीमतीको आम्दानी र दाइजोबाट खरिद गरेको हुँ

काठमाडौं : ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउन भूमिका खेलेर जग्गा नै घुस लिएको आरोपमा थुनामा रहेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाहले बयानका क्रममा उक्त जग्गा आफूले नभई श्रीमतीले आफ्नै आम्दानीले खरिद गरेको दाबी गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिएको बयानमा उनले राजश्व कम तिर्ने मनसायले हालैको बकसपत्र गरेको दाबी पनि गरेका छन्।

‘मेरी श्रीमती उर्मिला शाहले तत्कालीन अवस्था (२०४६ साल देखि २०७६ साल) मा शिवपुरी माध्यामिक विद्यालय, महाराजगञ्जमा अध्यापन गर्दा एक जना नाम थाहा नभएका विद्यार्थीको अभिभावकमार्फत बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका जग्गाहरु बिक्री गर्न खटिएको शर्माजी भन्ने वास्तविक नाम थर वतन थाहा नभएको जग्गा दलालसँग भेट भई जग्गासमेत हेरेकी रैछन्,’ उनले बयानमा भनेका छनन्, ‘दलालले उक्त जग्गाको मोही र बाटो निकास एक वर्षभित्रै मिलाई दिने भन्ने विश्वास दिलाएको रहेछ। तत् पश्चात मेरो श्रीमतीले उक्त जग्गा सस्तो मूल्यमा पाउने भएकोले उक्त जग्गा किन्नुपर्ने आफ्नो विचारमा असहमत हुदाँ हुदै खरिद गरेको हुँ।’

तत्कालीन समयमा आफू भक्तपुर मालपोत कार्यालयमा कार्यरत रहेको अवस्थामा श्रीमतीले नै आफ्नै अग्रसरतामा जग्गा खरिद गरेको दाबी उनले गरेका छन्।‘मेरो श्रीमतीले मेरो ईच्छा विपरीत आफ्नो दाजु बरुणकुमार शाहलाई जग्गाको पूर्जाको प्रतिलिपी र जग्गा भएको स्थानसमेत देखाई आफ्नो व्यक्तिगत कमाई तथा अपुग रकम दाजुसँग मागी दलालसँग जग्गा धनी कहाँ गई रकम बुझाई आफ्नो नाममा जग्गा पास गरेको हो,’ उनले बयानमा भनेका छन्, ‘राणा परिवारबाट अन्य को कसले (भुवन कुमारी चापागाई बाहेक) उक्त जग्गा पास गरेर लिए भन्ने विषय मेरो जानकारीमा छैन। उक्त समयमा म मालपोत कार्यालय, भक्तपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत थिएँ। त्यसबेला मेरो पिता जिवितै हुनुहुन्थ्यो र हाम्रो परिवार सगोलमा थियो।’

त्यसबेला जग्गाको राजीनामा पास गरीलिँदा लाग्ने राजश्व दस्तुर भन्दा हालैको बकसपत्र पास गर्दा लाग्ने राजश्व दस्तुर धेरै कम भएकाले राजीनामा नगरिएको दाबी उनले गरेका छन्। ‘त्यसबेला मालपोत कार्यालयहरुमा जग्गाको खरिद बिक्री हुँदा ६० प्रतिशतभन्दा बढी जग्गाहरु हालैको बकसपत्रबाट पास गर्ने प्रचलन थियो,’ उनले बयानमा भनेका छन्, ‘जग्गा खरिद मेरी श्रीमती उर्मिला शाहसमेतले गरेकी हुन्। खरिद गरेको जग्गा के कतिमा खरिद गरेको हो र सो जग्गा पछि के कतिमा मूल्य कायम बिक्री गरेको हो, रकम याद भएन। मेरी श्रीमती उर्मिला शाहले संयुक्त रुपमा जग्गा खरिद गरेकी हुन्। मेरो श्रीमतीले आफ्नो दाजुलाई लिएर तथ्यहरु भिडाएको हो र दुवै तथ्यहरु प्रमाणित भैसकेपछि मात्र जग्गा खरिदको कार्य भएको हो।’

उनले यो जग्गा श्रीमतीको व्यक्तिगत कमाई, दाईजो तथा पेवाको केही रकम र दाजु कानुन व्यवसायी बरुणकुमार शाहबाट प्राप्त ऋण सापटीसमेतको रकम नै जग्गा खरिद गरिएको उनले दाबी गरेका छन्। उक्त जग्गामा मोहीको हिस्सा कटाउँदा श्रीमतीको भागमा १–४–२–० एक रोपनी चार आना दुई पैसा जग्गा परेको उनले दाबी गरेका छन्। तर सीआईबीको अनुसन्धानमा शाहले खरिद गरेको नभई जग्गा व्यक्तिको बनाउने कार्यमा सेटिङ गरेको आधारमा घुसमा प्राप्त गरेका थिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।