माघको पहिलो हप्तादेखि काठमाडौं महानगरपालिकाको कार्यवाहक नेतृत्व उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने
काठमाडौ । आगामी माघको पहिलो हप्तादेखि काठमाडौं महानगरपालिकाको कार्यवाहक नेतृत्व उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने भएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिअनुसार बालेन प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेपछि महानगरको नेतृत्वमा परिवर्तन हुन लागेको हो।
आइतबार बिहान सार्वजनिक भएको रास्वपा–बालेन सहमतिअनुसार बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने उल्लेख छ। यसका लागि उनी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुपर्ने भएकाले स्थानीय तहको जनप्रतिनिधि पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शिलापत्रसँग कुरा गर्दै स्थानीय तह वा प्रदेश तहको निर्वाचित जनप्रतिनिधि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुअघि अनिवार्य रूपमा पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहेको स्पष्ट पारे। उनका अनुसार प्रत्यक्षतर्फको मनोनयन दर्ता हुनुअघि नै राजीनामा दिनुपर्छ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको मिति माघ ६ गते तोकेको छ। त्यसअनुसार मेयर बालेनले माघ ५ वा ६ गतेसम्म पदबाट राजीनामा दिएर मनोनयन दर्ता गर्नुपर्नेछ। बालेनको राजीनामा स्वीकृत भएसँगै स्थानीय सरकार सञ्चालन ऐनअनुसार उपप्रमुख सुनिता डंगोल कार्यवाहक मेयरका रूपमा महानगरको नेतृत्वमा आउनेछिन्।
महानगर स्रोतका अनुसार बालेनको उम्मेदवारी दर्ता र चुनावी अभियान सुरु भएसँगै महानगरपालिकाको दैनिक प्रशासनिक, विकास तथा सेवा प्रवाहसम्बन्धी जिम्मेवारी सुनिताको नेतृत्वमा सञ्चालन गरिनेछ। यसअघि पनि मेयर अनुपस्थित हुँदा सुनिताले कार्यवाहक भूमिका निर्वाह गरिसकेकी छन्।
बालेनको केन्द्रीय राजनीतिमा प्रवेशसँगै काठमाडौं महानगरको नेतृत्व परिवर्तन हुने निश्चित भएसँगै राजनीतिक वृत्तमा यसको प्रभावबारे चर्चा तीव्र बनेको छ। महानगरको निरन्तरता, विकास परियोजनाहरू र प्रशासनिक स्थायित्व सुनिताको कार्यकालमा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
अब माघको पहिलो साताभित्र बालेनको राजीनामा, उम्मेदवारी दर्ता र सुनिता डंगोलको औपचारिक कार्यवाहक नेतृत्वले काठमाडौं महानगरपालिकामा नयाँ अध्याय सुरु गर्ने देखिएको छ।


