झापाको बिर्तामोड स्थित दुई डान्स बारमा प्रहरीको छापा
झापा । झापाको बिर्तामोड नगर क्षेत्रमा सञ्चालनमा रहेका दुईवटा डान्स बारमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गएराति डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेको हो।
प्रहरीका अनुसार प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार सञ्चालन भइरहेको अवस्थामा छापा मारिएको हो। सो क्रममा डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका–२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्लाको गोलबजार–१ का २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरिएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ। बिर्तामोड क्षेत्रमा हाल करिब आधा दर्जन डान्स बारहरू सञ्चालनमा रहेका छन्। ती डान्स बारहरूमा युवती राखेर नाचगान गराइ सञ्चालन हुँदै आएको बताइएको छ।
प्रहरी प्रशासनले तोकेको समयको पालना नगरी बारहरू सञ्चालन हुँदै आएको गुनासो आएपछि निगरानी बढाइएको र सोही क्रममा छापा मारिएको प्रहरीको भनाइ छ।


