कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोगमा
काठमाडौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ ।
केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै दलबाट १८ जनाको नाम बन्दसूचीमा पेश गरेको उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता प्रक्रियामा समस्या देखिएपछि छुट्टै बन्दसूची पेश गरिपाऊ भन्दै उक्त पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, केन्द्रीय सदस्य श्री गुरुङ, ज्ञानेन्द्रकुमार तामाङ लगायतको टोली आयोगमा पुगेको थियो ।
उनीहरूले आफूहरूले बन्दसूची पेश गर्नका लागि पुष १४ गते ५० हजार धरौटी बुझाइसकेको र त्यसैले छुट्टै बन्दसूची पेश गर्न पाउ भन्दै आयोगमा एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार आयोगका कर्मचारीले भने बन्दसूची पेश गर्ने समय सीमा सकिइसकेकाले अब बन्दसूची पेश गर्न नमिल्ने भन्दै उज्यालो नेपाल पार्टीलाई फिर्ता पठाएको छ ।
पार्टी एकतापछि रास्वपाले पेस गरेको ११० जनाको बन्दसूचीमा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समेटिएको दाबी गरिएको छ । तर, भन्दा १८ जना भनेपछि १४ जनाको नाम मात्रै रहेको रास्वपाका एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग बताए ।
उनका अनुसार बन्दसूचीको अन्तिम नामावली रहँदासम्म करिब ७ जना मात्र उज्यालोका ७ जना मात्रै रहने बुझिएको छ ।
बन्दसूचीको ४२ नम्बरमा रहेको खस आर्यतर्फका उम्मेदवार दुर्गाबहादुर घिमिरेको नाममा पनि रास्वपा र उज्यालो नेपाल पार्टीबीच विवाद रहेको छ ।
दुवै पार्टीमा दुर्गाबहादुर घिमिरे नाम गरेका व्यक्ति छन् । तर, रास्वपाका घिमिरे चितवनका हुन् भने उज्यालोका घिमिरे नुवाकोटका हुन् ।
बन्दसूचीमा पेस गरिएको घिमिरेको ठेगाना चितवन रहेको छ । तर, रास्वपाले आफ्नोतर्फको उम्मेदवारको ठेगाना राखेर टाइपिङ मिस्टेक भएकाले उज्यालोको व्यक्ति भएको ठेगाना मात्रै चितवन भएको भन्दै झुक्याइरहेको ती केन्द्रीय सदस्यको भनाई छ ।


