मोरङको बेलबारीमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
बेलबारी। मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग चोकमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ। शनिबार साँझ ७.३० बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७६ नम्बरको इभी गाडीले ठक्कर दिँदा स्थानीय ५५ वर्षीय सुक बहादुर धिमालको मृत्यु भएको हो।
गाडीको ठक्करबाट धिमालको शरीरका विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर भएपछि उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै राति ८स्०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव अहिले कोशी अस्पतालकै शव गृहमा राखिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा र प्रहरी चौकी डाँगीहाटबाट खटिएको संयुक्त टोलीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २८ वर्षीय हेमन्त पुरी रहेका छन्। उनलाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


