झापाको कनकाई स्थित माई खोलाको पुल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा शंकास्पद अवस्थामा फेला परेको वस्तु (कालो ब्याग) सेनाले डिस्पोज गरेको छ ।
उक्त ब्यागको भित्री भागमा प्रेसर कुकरको ढकनी जस्तो देखिने वस्तु तथा कालो–रातो रङका तारहरू देखिएपछि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित गरिएको थियो।
त्यसपछि नेपाली सेना, श्री अरिदमन गण चारआलीबाट सेनानीको कमाण्डमा आएको बम डिस्पोजल टोलीले केहि समय अघि उक्त ब्यागलाई नियन्त्रित रूपमा बिस्फोट गरी डिस्पोज गरेको हो।
जाँचका क्रममा प्रेसर कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ फेला नपरेको पुष्टि भएको छ। यद्यपि, उक्त कालो ब्यागभित्र ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको घोषणा पत्र/पर्चा–पम्पलेट जम्मा ५ प्रति फेला परेका छन्। पूर्व–पश्चिम लोकमार्ग दुवैतर्फबाट सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ।


