शालीन राजनेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस
सन् १९५० को सन्धि भित्र भएको असमानताको बारेमा भारतसंग खुलेर कुरा राख्ने नेपालको पहिलो प्रधानमन्त्री नै मनमोहन
कोत पर्वपछि स्थापाना भएको राणा शासन १०४ वर्षसम्म निरंकुश रूपमा चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिकलगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्त्व बुझेका परिवारका सदस्य शिक्षा आर्जन गर्न भार तिर जाने गर्थे । भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि पर्यो । त्यसैमध्येका एक हुनुहुन्थ्यो मनमोहन अधिकारी । फलस्वरूप वि.सं. १९९९को ‘भारत छोड’ आन्दोलनमा भाग लिएकै कारण उहाँ पहिलोपल्ट अंग्रेजद्वारा पक्राउ परी भारतीय जेलमा पर्नुभयो । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण उहाँ कम्युनिस्ट विचारधारासँग आवद्ध हुनुभयो । डेढवर्ष बसी मुक्तिपश्चात् पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गर्नुभयो । अनि नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्न थाल्नुभयो । भारतीय स्तवतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवनको आरम्भ गर्नु भएका मनमोहनले २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनको ऐतिहासिक नेतृत्व सम्हाल्नुभयो । मजदुर आन्दोलनकै सिलसिलमा मनमोहन तीन वर्ष जेल पर्नुभयो |

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसबेला मनमोहन जेलमा हुनुहुन्थ्यो । जेलबाट रिहाई भएलगत्तै नेकपाका संस्थापक नेता पुष्पलाल उहाँलाई भेट्न रक्सौल आउनुभयो । त्यहाँ भएको सौहार्दपूर्ण भेटघाट र छलफलपछि नेकपासँग अटूटसम्बन्ध र नेतृत्वदायी भूमिका रह्यो । २००७ सालको राणा विरोधी संघर्षका क्रममा उहाँलाई भारतीय समाजवादी पार्टीका मुक्ति सेनाका जवानहरूले पक्राउ गरी १२ दिनसम्म हिरासतमा राखेका थिए । २००८ मा कलकत्तामा सम्पन्न भएको पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्युरो सदस्य हुनुभएका उहाँ वि.सं.२०१० सालमा भएको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित गरियो । यही बेला मनमोहन उपचार गर्न चीन जानुपर्ने भएपछि केशरजंग रायमाझीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिनुभयो । त्यतिबेला नेपालमा राजनीतिक रूपले धेरै उतारचढाव आयो त्यसलाई बुझ्न नेतृत्वले सकेन । जसका कारण कम्युनिस्ट पार्टीमा थुप्रै मतभेदहरू देखिए ।
प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमण गर्दा सन् १९५०को सन्धिको बारेमा खुलेर भारतसंग कुरा गर्ने पहिलो नेपालीको प्रधानमन्त्री नै मनमोहन अधिकारी हुन् |
०१७ साल पौष १ गतेको काण्डमा मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार भई ०२५ को अन्त्यतिर छुट्नु भयो । जेलबाट छुट्दा दिएको वक्तव्यलाई लिएर कतिले मनमोहन अधिकारीलाई ‘राजावादी’ भएको आरोप पछिसम्म लगाइरहे । यद्यपि उहाँले राजा र पञ्चायतसामु कहिल्यै पनि नझुकेर आफूमाथि लागेको आरोपलाई गलत सावित गरिदिनुभयो । कम्युनिस्ट पार्टीमा आएको विभाजनले उहाँ चिन्तित हुनुहुन्थ्यो त्यसैले विभाजन विरूद्ध एकताको प्रयासलाई अगाडि बढाउने उद्देश्यले मनमोहन सहित ३ जनाको केन्द्रीय न्युक्लियसको गठन भयो । यसले एकताको प्रयासलाई बढाउन नपाउँदै न्युक्लियसभित्रै विभाजन सुरु भयो । कम्युनिस्ट पार्टीमा एकपछि अर्को विभाजन बढ्दै गएपछि उहाँ ज्यादै चिन्तित बन्नुभयो । त्यसपछि केही समय चुपचाप रहनु नै उपयुक्त हुने ठान्नुभयो । ०२८ सालमा पूर्वकोसी प्रान्तीय कार्यकर्ताविहीन नेताका रूपमा रहनुभएका मनमोहनले ०३६ सालमा नेकपा (मनमोहन) नामको छुट्टै पार्टी खोलीे महासचिव हुनुभयो । वि.सं.०३६ जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो । मनमोहन अधिकारीले जनमत संग्रहलाई निष्पक्ष र धाँधालीरहित बनाउन पाँच पूर्वसर्त प्रस्तुत गर्नुभयो । आफू पनि बहुदलका पक्षमा लागेर हिँड्नुभयो । त्यसक्रममा पञ्चायत समर्थक गुन्डाहरूले ठाउँठाउँमा उहाँलाई अपमानित गरेका थिए । तर, पनि ६० वटा जिल्लामा बहुदल पक्षलाई भोट माग्दै गाउँगाउँमा आफ्ना विचार राख्न सफल हुनुभयो । जनमत संग्रहमा पञ्चायतको विजय भएको घोषणा गरेलगतै प्रमाणसहित जनमतसंग्रह निष्पक्ष नभएको भन्दै त्यसको विरोध एवं भर्सना गर्नुभयो । त्यसपछि पञ्चायती शासकहरूको दमन तीव्र भयो । त्यतिबेला सानो पार्टीको नेतृत्व गरे पनि उहाँ सबैखाले दमन र अत्याचारका विरुद्ध उभिनुभयो र पञ्चायत विरोधी संर्घषमा ऐक्यबद्धता जाहेर गरिरहनुभयो ।
वि.सं.०४६ मा भएको जनआन्दोलनको पहिलो दिनमा नै पक्राउ परी आन्दोलन सफल भएपछि चैत्र २६ गते रातिमात्र छोडिएको थियो । समयको माग र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीका नेताहरूले आपसी एकताको लागि प्रयासहरू गर्न थाले । एउटै कम्युनिस्ट पार्टी बनेमा शक्तिशाली हुने र देशमा राजनीतिक स्थिरता आउने भएकोले ०४६ को सफल जनआन्दोलनपश्चात् ०४६ पौष २२ गते अधिकारीले नेतृत्व गर्नु भएको नेकपा(माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा(माले) एकीकृत भई नेकपा(एमाले) गठन भयो । एकतापछि बनेको पार्टीको अध्यक्ष पदमा उहाँ नै सर्वसम्मतले छानिनुभयो । त्यसैगरी ०४९ मा भएको नेकपा (एमाले) को पाँचौँ महाधिवेशनमा पुन:अध्यक्ष पदमा नै चयन हुनुभयो । प्रजातन्त्रको पुन:स्थापनापश्चात् २०५ सिटका लागि भएको आम निर्वाचनमा एमाले पार्टीले ६९ सिटमा विजय हासिल गरी उहाँलाई संसद्मा प्रतिपक्षी दलको नेतामा चयन गर्यो ।
०५१ मा भएको मध्यावधि निर्वाचन २०५ मध्ये ८९ सिट ल्याई एमाले संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन गर्यो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभयो । नौ महिनामात्र शासन गर्न पाएको मनमोहन नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा जनपक्षीय र लोकप्रिय सरकारका रूपमा आफूलाई स्थापित गर्न सक्यो । २००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष र जनतामा देखाएको त्याग नै मनमोहन अधिकारीको सरकारको आधार थियो । मनमोहन जति दिन सत्तामा रहनुभयो जनताकै पक्षमा काम गरेर बस्नुभयो । त्यसैले त उहाँ बालक, युवा, वृद्ध सबैका आशाका धरोहर बन्न पुग्नुभयो । जनतालाई राहत दिने गरी काम गरेको देख्न नसक्ने देशी विदेशी शक्तिले अल्पमतको सरकारबाट हटाए पनि जनताले मनमोहनले बहुमतको सरकार चलाएको हेर्न चाहिरहेका थिए ।
०५६ सालमा हुन लागेको आमनिर्वाचनमा पार्टीले ‘आगामी सरकार एमालेको अल्पमतको होइन बहुतमतको’ भन्ने नारालाई अगाडि सारेपछि त्यो नारालाई सार्थकता प्रदान गर्न उहाँ अझ बढी जोस र जाँगरका साथ पार्टी काममा संलग्न हुन थाल्नुभएको थियो । चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्ने प्रबल विश्वास उहाँमा थियो र त्यही आत्मविश्वासले मेचीदेखि महाकालीसम्मका भू–भागहरूमा सक्रियतापूर्वक सहभागी हुनुभएको थियो ।
चुनावी कार्यक्रममा वैशाख ६ गते काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. १ गोठाटारको चुनावी सभालाई सम्बोधन गरी निवास फर्कने क्रममा एक्कासि अस्वस्थ हुनुभयो । त्यसलगतै शिक्षण अस्पतालमा पुर्याई ७ दिनसम्म उपचारमा सम्भव भएसम्मका उपायहरू अप्नाउँदा पनि उहाँलाई बचाउन सकिएन । राष्ट्र र जनताका लागि लड्दालड्दै, निमुखा जनताका खातिर एमालेको बहुमतको सरकार बनाउने संकल्पमा जुट्दाजुट्दै ०५६ वैशाख १३ गते उहाँले यस धर्तीबाट सदाका लागि बिदा लिनुभयो । मनमोहन पार्टीको नेता होइन सिंगो मुलुकको अभिभावक हुनुभएको थियो । त्यो मनमोहनको मायाले गर्दा होइन जनभावनाअनुसारको काम गर्नुभएका कारण थियो । मनमोहनले नौ महिने शासन गरेर एमाले पार्टीको छवि उचो पार्नुभएको छ । त्यसैलाई देखाएर राजनीति गर्न सजिलो भएकै कारण आजसम्म उहाँको नाम लिइँदै छ । उहाँले हामीबाट बिदा लिनुभएको पनि आज १८ वर्ष भएको छ । यही १८ औ स्मृति दिवसका अवसरमा आदरयणीय कमरेड मनमोहन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।


