माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि गोली हाने
भोजपुर नगरपालिका–१, हेलौँछाको भाम्राङमा एक माओवादी कार्यकर्ताले एमाले र्कायकर्तालाई गोली हानेका छन् । बिहीबार साँझ गाउँमै एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले भरुवा बन्दुकबाट गोली प्रहार गरेका हुन् ।
घर नजिकै रहेको जंगलमा तामाङलाई ताकेर माओवादी कार्यकर्ताले गोली हानेका थिए । बन्दुक ताकेको देखेपछि तामाङ आत्तिएर लडेकी थिइन् । तामाङ लडेपछि गोली हानेपनि ज्यान बचाउन सफल भएकी छन् । एमालेसम्वद्ध अखिल नेपाल महिला संघ नगर कमिटिकी सचिव तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच यसअघिबाटै राजनीतिक विवाद चल्दै आएको थियो ।
गोली प्रहार गर्ने माओवादी कार्यकर्तालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
घटनाको नेकपा एमाले भोजपुरले भत्र्सना गरेको छ । एमालेका सचिव शरणकुमार राईले आफ्ना कार्यकर्तामाथि नियोजित रुपमा गोली हानिएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
सचिव राईले नजिकिएको स्थानीय तहको निर्वाचन भाँड्ने नियतका साथ माओवादी अन्य दलका कार्यकर्तामाथि आक्रमणमा उत्रेको दाबी गरे
। एक नम्बर प्रदेशको भोजपुरसहित चारवटा प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन हुने कार्यक्रम छ ।

