जनमुक्तिले पहिचानवादीहरुसँग मिलेर चुनाव लड्ने
धनकुटा खबर, बैशाख ३० । आगामी जेष्ठ ३१ गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले अरुणपुर्वको ९ जिल्लाका पहिचानवादीहरुसंग मिलेर चुनाव लड्ने निर्णय गरेको छ ।

तस्विर: सुनसरीमा पार्टीका केन्द्रिय उपाध्यक्ष चन्द्र खापुङ विशेष वैठक सम्वोधन गर्दै ।
राष्ट्रिय जनमुक्ति पार्टीको आयोजना र लिम्वुवान राज्य परिषद निर्वाचन परिचालन समितिको स्थानिय व्यावस्थापनमा सनिवार सुनसरीको धरानमा सम्पन्न विशेष वैठकले पार्टीले चुनाव चिन्ह घर लिएर पहिचानवादीहरुसंग मिलेर चुनाव लड्ने निर्णय गरेको हो ।
निर्वाचन परिचालन समितिको विशेष वैठकमा लिम्वुवान भित्रका ९ जिल्लाका राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्षहरु, जिल्ला इन्चार्जहरु, लिम्वुवान राज्य परिषदका पदाधिकारीहरु र सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
पार्टीका संस्थापक नेता रामहवहादुर तुम्वाहाम्फेको प्रमुख अतिथ्यमा सम्पन्न निर्वाचन परिचालन समितिको विशेष वैठकले अरुण पुर्वको ९ वटै जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समन्वय गरी निर्वाचनको आवश्याक तयारी गर्ने भएको छ ।
त्यसैगरी सो छलफलमा आचार सहिंतालाई ख्याल गर्दै जनजागरण अभियान र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्वुवान मञ्च, संघिय लिम्वुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी लगायतलाई कार्यगत एकता गर्न पार्टीले छलफलको लागी ढोका खुल्ला राख्ने समेत विशेष वैठकले निर्णय गरिएको वैठकमा सहभागी धनकुटा जिल्ला अध्यक्ष सविला मोक्तान तामाङले वताएका छन् ।
वैठकले आगमी जेष्ठ १० गतेसम्ममा जिल्ला जिल्लाले स्थानिय निर्वाचनको तयारी सम्वन्धि प्रगती विवरण केन्द्रिय निर्वाचन परिचालन समितिको संयोजकलाई वुझाउनु पर्ने वताइएको छ । वैठकले लिम्वुवानको ९ जिल्लामा १ सय ८१ स्थानमा चुनाव जिताउने समेत रणनीति तय गरेको जनाइएको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष मिना पन्धाक लिम्वुको अध्यक्षतामा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टी लिम्वुवान राज्य परिषदको निर्वाचन परिचालन समितिको विशेष वैठकमा पार्टीका बिभिन्न नेताहरुले स्थानिय निर्वाचनलाई पार्टीले सक्दो उपयोग गरेर जानु पर्नेमा जोड दिईएको छ ।


