प्रहरीको जागिर छाडेको २ महिनामै वडाध्यक्षमा निर्वाचित
कुश्मा, झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै विकास तिमल्सिना वडाध्यक्षमा निर्वाचित हुनु भएको छ।
पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी तिमल्सिना मंगलबार भारी मतका साथ वडा अध्यक्षमा विजयी हुनु भएको हो। नेकपा एमालेको तर्फबाट उम्मेदवार उहाँले ७ सय १४ मत प्राप्त गर्नु भएको छ।
दुई दशकभन्दा बढी जागिर गरेपछि अब घरमै बसेर कृषि पेशा अगाल्ने र समाज सेवामा समेत क्रियाशिल हुने सोच बनाएर उहाँले गत फागुनमा प्रहरीको जागिरबाट राजीनामा दिनुभएको थियो।
प्रहरी सहायक निरीक्षक पदमा रहेर नेपालकै उत्कृष्ट ट्राफिक प्रहरीको मानपदवी समेत भिरेका तिमल्सिना एकाएक राजनीतिमा उदाउनु भएको
हो। ‘जागिर छाड्ने बेला स्थानीय चुनावको चर्चा पनि थिएन र मैले उम्मेदवारी दिने सोच पनि बनाएको थिइन तर विस्तारै गाउँलेको सुझावका कारण उम्मेदवारी दिएको हुँ, संयोगवस आज विजयी हुँदा निकै खुसी लागेको छ’, उहाँले भन्नुभयो।
उहाँले अब समाज सेवामा सक्रिय भएर लाग्ने प्रण समेत गर्नु भएको छ। गाउँको विकास निर्माणसँगै स्थानीयस्तरको चौतर्फी विकासमा मेरो बाँकी जीवन बिताउने योजना बनाएको छु ’, उहाँले भन्नुभयो।
विद्यार्थी कालमा रहँदा २०४० सालदेखि २०४८ सालमै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय राजनीति गर्नु भएका तिमिल्सिना पछि जागिरमा प्रवेश गरेपछि राजनीतिबाट ओझेलमा हुनुहुन्थ्यो। प्रहरीमा छँदा पनि उहाँको उत्तिकै वाहिवाही थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमा पालामा उहााले उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कार पाउनु भएको थियो।
‘मेरो बाबुको समाजप्रतिको योजना र मैले सामाजिक, सरकारी तथा कालाकारीताको क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन आम गाउँबासीले गरेको जस्तो अनुभूति भएको छ’, उहाँ भन्नुहुन्छ। लामो समयको जागिरे अनुभवसँगै आफुमा समाज विकासको अनुभव र इच्छाशक्ति समेत भएकाले अब आफ्ना सम्पूर्ण शक्ति मोदी गाउँपालिका २ मा खर्चिने उहाँको भनाइ छ।
उहाँ प्रहरी जागिरे मात्र नभएर सफल कलाकार समेत हुनुहुन्छ। जागिरको दौरानमा नुवाकोट, चितवन, गोरखा, कपिलवस्तु, काठमाडौ, म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लामा बस्नुभएका उहाँले अब आफ्नै गाउँलाई माथि उठाउनका लागि सेवामा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ। उमेरले ४१ वर्ष पुग्नु भएका तिमल्सिना विजयी भएपछि मोदी गाउँपालिकाबासी समेत उत्साहित भएका छन्।


