ओलीको जवाफमा प्रकाश दाहालले दुई शब्दमा यसो भने…
काठमाण्डौ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवसमेत रहेका उनका पुत्र प्रकाश दाहालमाथि एमाले अध्यक्ष केपी ओली मंगलबार मज्जैले खनिए ।
एमाले काठमाण्डुले आयोजना गरेको विजय सभामा ओलीले प्रकाशलाई सरकारले गणतन्त्र दिवसका अवसरमा प्रबल जनसेवा श्री पदक सिफारिस गरेको विषयलाई ओलीले मसला बनाए । तर, एमाले वृत्त र माओवादीका कट्टर आलोचक समेतले पूर्वप्रधानमन्त्री समेत रहेका अग्ला कदका नेता ओलीले छोराको व्यक्तिगत जीवनबारे बाबुलाई जोडेर भाषण गरेकामा असहमति र विरोध जनाएका छन् ।
सामाजिक सञ्जाल ओलीको समर्थन र विरोधले भरिएको छ । ओलीले प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्र्दै भनेका थिए–‘प्रधानमन्त्रीज्यू कतिवटा विवाह गरेपछि सम्मान पाइन्छ ?’ उनले प्रकाश कसरी महान समाजसेवी भए ? भन्ने प्रश्न समेत गरेका थिए । काठमाण्डुटुडेले पटकपटक आग्रह गर्दासमेत प्रकाशले त्यसबारे केही बोल्न चाहेनन् । उनले आफूलाई त्यसबारे थाहा नभएको बताएर पन्छिन खोजे ।
देशका पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिको आफूले आलोचना नगर्ने बताए । तर, धेरै कर गरेपछि उनले भने, ‘त्यसबारेमा केही बोल्दिन’, उनले भने, ‘बोल्न जरुरी छैन ।’ आफूले थाहा पाएलगत्तै पदक अस्वीकार गरेर त्यसबारे पहिल्यै प्रतिक्रिया दिइसकेको उनको भनाइ छ ।


