प्रचण्डले छोरी रेणुलाई भने,- तिमीले हारे पनि जित्यौ, जिते पनि जित्यौ, चुप लागेर बस
काठमाडौँ, २३ जेठ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाललाई आफूले चुप लागेर बस्न सुझाव दिएको खुलासा गरेका छन् ।
व्यवस्थापिका संसदको बैठक बोल्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने – ‘त्यो घटना घट्नुअघि मेरो छोरी भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाललाई फोन गरेर भनेको थिएँ- एमालेका देवी ज्ञवालीजीको मत अन्तर बढ्दैछ, तिमी हारे पनि जित्यौ, जिते पनि जित्यौ । एक ढंगको छवि बन्यो चुप लागेर बस भनेर भनेँ ।’
थप प्रष्टीकरण दिँदै उनले भने – ‘भरतपुर घटनालाई मैले अपवादको रुपमा लिएको छु । घटना घट्नुअघि तीन दिनसम्म भरतपुरमा मेरो कुनै सम्पर्क भएको थिएन् । तर, तपाईंहरुले जे भने पनि म सबै सामाना गर्न तयार छु ।’
सबैको ध्यान भरतपुरतिरै केन्द्रीत रहेको भन्दै उनले भने – ‘अब भरतपुर अदालतको पनि विषय, सदन, राजनीतिक दलको विषय भयो । सबैभन्दा पारदर्शी भरतपुरमै हुन्छ भन्ने मलाई विश्वास छ । हुनु पनि पर्छ ।’
भरतपुरमा मतपत्र च्यात्ने घटना दुःखद र गलत रहेको उनले दोहार्याए । ‘त्यो घटना सुनेँपछि मैले गलत भयो भनेको छु, प्रधानमन्त्रीको हैसियतले निर्वाचन आयोगललाई बोलाएर जे ठीक लाग्छ त्यो गर्नुस् भनेको थिएँ । मतपत्र च्यातिएको घटनालाई म सही भन्न सक्दिन भनेको थिएँ ।’ – प्रचण्डले भने ।
ओलीलाई आलोचना गर्दै उनले भने – ‘लुकीछिपी षडयन्त्र भयो भन्न तपाईंलाई लाज लाग्दैन् ? तपाईंलाई त भन्न के लाज भयो र गर्नेलाई हुने हो नि लाज त ?’
उनले एमाले अध्यक्ष ओलीले दम्भ देखाएको आरोप पनि लगाए । ‘अलि बढी दम्भ देखाउनुभयो । यसले फाइदा हुँदैन भनेर तपाईंसँग विशेष रुपमा अनुरोध गर्न चाहन्छु ।’उनले भने ।
प्रचण्डले आफूले स्वेच्छाले राजीनामा दिएको बताए । काँग्रेसको दबाबमा राजीनामा नदिएको उनको प्रष्टीकरण थियो ।


