पूर्व युवराज्ञी हिमानी पूजाआजामा गोरखपुर, देवयानी राणा र हिमानी शाहको बस–उठ तथा सम्पर्क बाक्लिदै, पशुपति धमाधम जग्गा बेच्दै

काठमाडौं, ५ असार । पूर्व युवराज्ञी हिमानी शाह भारत भ्रमणको तयारीमा छिन् । उनको यो भ्रमण धार्मिक भए पनि उद्देश्य चाहिँ राजनीतिक नै रहेको निर्मल निवास स्रोतले जनाएको छ । गोरखकाली र आलमदेवीको फूलप्रसाद गोरखपुरस्थित गोरखनाथको मन्दिरमा चढाउन हिमानी भारत भ्रमणमा जान लागेकी हुन् ।

यही असारको तेस्रो साताभित्र उनी छोराछोरी सहित भारत भ्रमणमा जाने समाचार स्रोतले जनाएको छ । गत जेठ २३ गते गोरखनाथ मन्दिरमा रुद्री लगाउन छोराछोरीसहित गोरखा पुगेकी हिमानीले स्याङ्जा आलमदेवी मन्दिर पुगेर पूजाआजा पनि गरेकी छन् । आलमदेवी शाह वंशीय राजाहरूकी कुलदेवी हुन् ।

शाह वंशीय राजाहरूका कुल देवता अष्टभुजा मष्टो हुन् । अष्टभुजा मष्टोको स्थान पनि आलमदेवी मन्दिरमै रहेको छ । छोरा हृदयेन्द्रको व्रतवन्ध गत चैतमा सम्पन्न भएको थियो । व्रतवन्धपछि कुलदेवता र कुलदेवीको पूजामा सरिक गराउने परम्परा छ । कुलदेवताको पूजामा सरिक हुनुअघि गोर्खामा रुद्री लगाइएको हो ।

शाह वंशीय राजाहरूको उद्गमस्थल स्याङ्जाको नुवाकोट हो । नुवाकोटका राजा कुलमण्डन शाहका ठाहिँला छोरा जशम्भु (यसोब्रह्म) शाहलाई लमजुङेहरूले चोरेर ल्याई लमजुङमा आधुनिक राज्य स्थापना गरेका थिए । यसोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहलाई लमजुङबाट ल्याएर गोर्खालीहरूले राजा बनाएका थिए ।

त्यही परम्पराअनुसार गोर्खा र स्याङ्जामा पुूजा आराधाना गरी फूल–प्रसाद चढाउन पूर्व युवराज्ञी हिमानी भारतको गोरखपुर तथा लखनउ जान लागेकी हुन् । लखनउसँग पनि शाहवंशीय राजाहरूको गहिरो साइनो जोडिएको छ । स्याङ्जाका राजा मिचा खाँका छोरा कुलमण्डन खाँलाई लखनउका नबावले शाह उपाधि दिएको इतिहासका पुस्तकहरूमा उल्लेख छ ।

समाचार स्रोतका अनुसार भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गोरखनाथ मन्दिरका मुख्य महन्थ स्वामी आदित्यनाथले पूर्व युवराज्ञी हिमानी शाहको स्वागतका लागि तयारी गरेका छन् । स्वामी आदित्यनाथले राजतन्त्र पुनस्र्थापनाको घोषित उद्देश्य बोकेका छन् ।

राजा तथा हिन्दुवादी कन्जर्भेटिभ पार्टी अघि बढाउने सिलसिलामा स्वामी आदित्यनाथले धेरैपटक नेपाल भ्रमण गरेका छन् । मुख्यमन्त्री बनेपछि गोरखनाथको दर्शन गर्न गोर्खा आउने उनको कार्यक्रम रहे पनि चुनावका कारण तथा नेपालले सरकारीस्तरबाट चासो देखाएको छैन । आदित्यनाथलाई नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन पनि राजावादीहरूले हिमानीलाई प्रयोग गरेका छन् ।

स्वर्गीय युवराज दिपेन्द्र शाहकी प्रेमिका देवयानी राणा र पूर्व युवराज्ञी हिमानी शाहको बस–उठ तथा सम्पर्क पछिल्लो समयमा निकै बाक्लिएको छ । देवयानीलाई अघि सारेर हिन्दू–राजावादी पार्टी नेपालमा अघि बढाउने अभियान पनि भित्रभित्रै सुरु भएको समाचार स्रोतले जनाएको छ ।

यस अभियानअन्तर्गत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र देवयानीका पिता पशुपतिशमशेर राणाको भेटघाट तथा सम्पर्क निकै बाक्लिएको छ । सुरुको पाँच वर्ष डा.लोहनी अध्यक्ष रहने र त्यसपछि देवयानी अध्यक्ष रहने गरी कुरा मिल्न मिल्न लागेको समाचार स्रोतको दावी छ ।

यसै सिलसिलामा एक महिनाअघि नेपाल आएकी देवयानी हाल दिल्लीमा छन् । उनी संयुक्त राष्ट्रसंघअन्तर्गतको माइक्रो हाइड्रोपावर शाखाको निर्देशकका रूपमा कार्यरत छिन् । चार महिनापछि उनको पेन्सन पाक्दैछ । त्यसपछि उनी ढुक्कले नेपाल आएर राजनीतिमा सरिक हुने राप्रपा राष्ट्रवादी स्रोतको दाबी छ ।

देवयानी नेपाल फर्केर सक्रिय राजनीति गर्ने चर्चा चले पनि उनका पिता पशुपतिशमशेर राणाले भने नेपालमा रहेको सम्पत्ति बिक्री गर्ने क्रम जारी राखेका छन् । केही वर्षअघि करिब एक अर्ब रुपैयाँमा नेपाल ग्याँस कम्पनीको अधिकांश सेयर बिक्री गरेका राणाले काठमाडौं उपत्यका तथा तराईमा रहेका आफ्ना जग्गाहरू खोज्न मान्छे लगाउने र जग्गा फेला पर्नेवित्तिकै सस्तैमा बिक्री गर्न थालेका छन् ।

समाचार स्रोतका अनुसार तराईका मुख्यमुख्य सहरी क्षेत्रमा उनको थुप्रै जग्गा फेला परेको छ । केही महिनाअघि वीरगन्जमा पत्ता लागेको राणाको जग्गा ८० लाखमा बिक्रीका लागि बैना भएको थाहा पाएपछि स्थानीय नेता विमल श्रीवास्तवले यति सस्तोमा किन दिन लाग्नुभएको ? भन्दै आफैंले एक करोड ५० लाख रुपैयाँमा किनेका थिए, खबर तरुणमा छ ।

राजधानी काठमाडौंभित्रका बबरमहलमा रहेको पाँच रोपनी, विजयबासको कम्पाउन्डसँग जोडिएको ३५ रोपनी र निर्मल निवास पछाडि रहेको २५ रोपनी जग्गा बिक्रीका लागि पनि राणाले जग्गा दलालहरूलाई जानकारी दिएको समाचार स्रोतले जनाएको छ । देवयानी राणा राजनीति गर्नभन्दा पनि बाबुको सम्पत्ति स्याहार्न र बिक्री गर्न नेपाल आउन लागेको प्रचार कमल थापा निकटस्थहरूबाट सुरु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।