कांग्रेस नेता भण्डारी भन्छन्, – जनताको विश्वासलाई कांग्रेसले विश्वासघात गर्ने काम गर्यो

काठमाण्डौं, २१ असार । पहिलो चरणको निर्वाचनमा एमालेभन्दा केही कमजोर बनेको सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनमा निकै कमजोर बन्न पुगेको छ । दोस्रो चरणको निर्वाचनमा कांग्रेस निकै कमजोर बनेपछि अहिले कांग्रेसभित्र तीव्र विवादसमेत चुलिएको छ ।

कांग्रेसका केही नेताले पार्टीभित्र गम्भीर समीक्षा गर्नुपर्ने समेत कुरा उठाएका छन् । पूर्वमन्त्री एवं सांसद शंकर भण्डारीले त कांग्रेस बिना तयारीमा निर्वाचनमा गएको भन्दै कांग्रेसले प्राप्त गरेको परिणामलाई उत्साहजनक भनेका छन् । ‘मैले यो परिणामलाई त्यति धेरै अपत्यारिलो, अनौठो र अचम्मै खालको भनेर मूल्याङ्कन गरेको छैन,’ पहिलो न्युजडटकमसँग कुराकानी गर्दै भण्डारीले भने, ‘नेकपा (एमाले) मुख्य प्रतिस्पर्धी छ भन्ने जान्दाजान्दै पनि हामीले त्यति धेरै मिहिनेत गरेनौँ । हाम्रो प्रतिस्पर्धी एमालेलाई निकै हल्का ढंगबाट हामीले बुझेका कारण हामीले जुन खालको सफलता प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनौँ ।’

उनले कांग्रेसले आफूले आफैलाई शक्तिशाली ठानेकाले पनि परिणाम कमजोर आएको दाबी गरे । ‘कांग्रेससँग कसले प्रतिस्पर्धा गर्न सक्ला र भन्दै हामीले आफैलाई शक्तिशाली ठानेर बस्यौँ । त्यसैले हामीले जे परिश्रम गरेका थियौँ, अहिले त्यही फल प्राप्त गरेका छौँ,’ उनले भने, ‘त्यसैले हामीले यो विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने आवश्यकता देखेको छु । कांग्रेसका साथीहरुले पनि यो बारेमा गम्भीर भएर छलफल गर्नुपर्छ । नेतृत्वमा पनि यो विषयमा छलफल हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

उनले हिमाल, पहाड र तराईका जनताले कांग्रेसलाई धेरै माया गरे पनि कांग्रेसका नेताहरु ढुक्क भएर बसेको आरोप पनि लगाए । ‘एक हिसाबले भन्ने हो भने जनताको विश्वासलाई कांग्रेसले विश्वासघात गर्ने काम गर्यो,’ उनले भने ‘स्थानीय निर्वाचन २० वर्षपछि हुँदै थियो । हामी चिरपरिचित पार्टी एमालेसँग चुनावी प्रतिस्पर्धामा थियौँ । एमाले सबै प्रयोग गरेर चुनावी मैदानमा छ भन्ने सामान्य हेक्का पनि हामीले राख्न सकेनौँ । यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी भयो ।’

उनले कांग्रेसले एमाले भन्ने पनि पार्टी छ भनेर हेक्का राखेको भए यो पटकको परिणाम कांग्रेसका पक्षमा उत्साहजनक रुपमा आउने पनि दाबी गरे । भण्डारीले दोस्रो चरणको निर्वाचनसँगै तेस्रो चरणको निर्वाचनका लागि मधेसी दललाई दबाब बढेको पनि दाबी गरे । ‘अहिले प्रदेश नम्बर दुईका साथीहरुलाई पनि निर्वाचन अपरिहार्य जस्तो भएको छ । प्रदेश नम्बर पाँच र सातका मधेसका जिल्लामा पनि धुमधामसँग निर्वाचन सम्पन्न भयो,’ उनले भने, ‘अहिले उनीहरुले पनि अब प्रदेश नम्बर दुईमा निर्वाचन गर्नुको विकल्प छैन भन्न थालेको छन् । यो सकारात्मक कुरा हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖