धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै ओलीले दिए आफ्नै पाटीका नेता कार्यकर्तालाई यस्तो चेतावनी !

झापा, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् ।

गृहजिल्ला झापामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले झापाको चुनावी परिणामप्रति पनि असन्तुष्टि जनाए । हाम्रोदेशमा खबर छ- झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाको परिणाम नआउँदै एमालेले ११ उपप्रमुख जितिसकेको छ । तर, प्रमुख भने ६ स्थानमा मात्र जितेको अवस्था छ ।

एमालेले यसलाई अन्तरघातको कारण भनेको छ । झापाको गौरादह, बुद्धशान्ति र मेची नगरपालिकामा प्रमुख हार्नुको कारण खोज्न ओलीले जिल्ला नेतृत्वलाई निर्देशन दिए । ‘हामीले सधैं जित्ने गरेका ठाउँमा किन र कसरी हारियो ? मलाई एक साताभित्र स्पष्टकरण चाहिन्छ’ ओलीले भने, ‘सधैंभरि एमाले हुने एक दिन मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमालेमा रहन पाउँदैन, त्यस्ता मान्छेको एमालेका स्थान छैन।’

झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक नै बुद्धशान्ति गाउँपालिकामा पराजित भएको र सचिव मदन अधिकारी एमालेको गढ गौरादहमा पराजित भएकोमा ओली क्षुब्द देखिएका छन् । त्यस्तै मेचीनगरमा बिष्णु प्रसाईले हार्नुमा अन्तरघात भएको उनको ठहर छ ।

अन्तरघात गर्नेहरुको पहिचान गरेर निर्मम कारवाही गर्न उनले निर्देशन समेत दिएका छन् । पार्टी सचिव प्रदीप ज्ञवाली र काठमाडौंका पूर्व मेयर केशव स्थापितसहित झापा पुगेका ओलीले जनप्रतिनिधिहरुलाई विपक्षीलाई समेत समेटेर विकास निर्माणको काममा लाग्न निर्देशन दिए ।

एक नम्बर प्रदेशमा धेरै ठाउँमा एमालेले अन्तरघातका कारण प्रमुख पद गुमाउनुपरेको निष्कर्ष ओलीले निकालेका छन् । १ नम्बर प्रदेशमा एमालेले १३ ठाउँमा प्रमुख हारेर उपप्रमुख जितेको छ । प्रदेशमा ६७ स्थानमा प्रमुख जित्दा उपप्रमुखमा ८० जना जितेका छन् । ओली बिजय उत्सवमा सहभागी हुन पूर्वी नेपालमा छन् ।

उनी शनिवार धनकुटा पुगेका थिए । धनकुटामा एमालेले सबै स्थानीय तह जितेर इतिहास रचेको भन्दै ओलीले जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सन घोषित गरेका थिए ।

संविधान संशोधन विदेशी डिजाइन

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान संशोधनको हल्ला फेरि सत्तापक्षले गर्न थालेको भन्दै विदेशीले डिजाइन गरेको त्यो प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।

उनले हिमाल, पहाड र तराईलाई अलग गर्ने योजना सफल हुन नदिने बताए । ओलीले एमाले विरुद्ध विदेशीकै उक्साहटमा गठबन्धन बनेको र त्यो गठबन्धलाई जनताले चुनावबाट परास्त गरेको बताए ।

उनले अदालत, निर्वाचन आयोग स्ता संवैधानिक अंगहरु सरकारको लाचार छायाँ बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । ओलीले भरतपुर महानरपालिकाको प्रकरणमा अदालतले अहिलेसम्म फैसला दिन नसक्नु त्यसको उदाहरण भएको टिप्पणी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।