धनकुटाको मारेककटहरे गाविसद्वारा साप्ताहिक घुम्ति सेवा सञ्चालन

धनकुटा, ४ फागुन । विभिन्न वडा नागरिकलाई सेवा दिने उद्देश्यले मारेककटहरे गाविसले साप्ताहिक घुम्ति सेवा सञ्चालन गरेको छ । गाविसको कार्यालय सवै वडाका नागरिकका लागी उपयुक्त स्थानमा नभएपछि गाविसले साप्ताहिक घुम्ति सेवा सञ्चालन गरेको हो । गाविसको वडा न.७ मुलखर्कबजारमा प्रत्येक विहिवार साप्ताहिक घुम्ति सेवा कार्यक्रम मार्फत गाविसवाट प्रदान गरिने सेवासुविधाहरु प्रदान गर्ने गरिएको छ ।
उक्त स्थानमा प्रत्येक बिहिवार साप्ताहिक हटिया लाग्ने भएकाले साप्ताहिक घुम्ति सेवा सञ्चालन गरिएको गाविस सचिव बावुराम ढुङ्गगानाले वताउनुभयो । गाविसको कार्यालय भएको क्षेत्रमा वस्ती पातलो भएको र तल्लो क्षेत्रमा वस्ती धेरै भएकाले त्यस क्षेत्रका नागरिकलाई लक्ष्ति गरि सेवा सञ्चालन गरिएको गाविस सचिव ढुङ्गगानाले वताउनुभयो ।
गाविसले सञ्चालन गरेको साप्ताहिक घुम्ति सेवा कार्यक्रम मार्फत गाविसको वडा न.१,२,४,६,७,८ र ९ वडाका बासिन्दाले सेवा लिने गरेका छन् । साप्ताहिक हटियाको दिन घुम्ति सेवा सञ्चालन हुने भएपछि गाविसको कार्यालय सम्म पुग्नु नपर्दा सेवा लिन सहज भएको मारेककटहरे–७ निवासी लिलबहादुर श्रेष्ठले सुनाउनुभयो ।
गाविसको कार्यालय सम्म पुग्न ३ घण्टा लाग्छ,यहाँवाट दिने सेवा लिन आउन समेत एक घण्टा लाग्ने गरेको छ मारेककटहरे–८ का जयबहादुर लिम्बुले वताउनुभयो । बिहिवारको दिन घुम्ति सेवा मार्फत सेवा लिन आउने भिड हुने गरेको छ । गाविसवाट प्रदान गरिने सेवाहरु व्यक्तिगत घटना दर्ता,विभिन्न सिफारिस तथा तिरो तिर्न सर्वसाधारण आउने गरेको गाविसका सामाजिक परिचालक पदम रखालले वताउनुभयो । गाविसको कार्यालय वडा न.५ घुमाउनेमा रहेको छ ।
वडा न.९ का स्थानियवासीलाई गाविसको कार्यालय सम्म आउन करिब ४ घण्टा सम्म लाग्ने गरेको छ । साप्ताहिक घुम्ति सेवा गत वर्षको फागुन महिना देखि सञ्चालन गरिएको गाविसको कार्यालय मारेककटहरे जनाएको छ ।


