इजरायल पठाउँछु भन्दै लाखौँ ठगेर फोरम नेता फरार, राजनीतिक प्रभाबमा प्रहरीले कार्वाही गरेन
काठमाडौँ, बैदेशिक रोजगारमा जाने युवाहरुबाट लाखौ रकम ठगी गरेर नुवाकोट सामरी ४ का तारालाल विश्वकर्मा लामो समय देखि फरार भएका छन् । काठमाडौँको नयाँ वानेश्वरमा रहेको शुभम पोलिक्लिनिक प्रालिसँगको मिलेमतोमा बिभिन्न युवाहरुलाई इजरायल पठाउने भन्दै रकम असुलेर उनी फरार भएका हुन् । तारालालले प्रति ब्यक्ति १ लाख देखि एक लाख ५० हजारका दरले पैसा लिने गरेका थिए ।

उनले इजरायल पठाउने भन्दै दोहली गाविस ५ गुल्मीका का उमाकान्त कुँवरसँग पनि एक लाख रकम लिएका थिए । रकम लिएर तारालाल सम्पर्कमा नरहेपछि आफूले तिरेको रकम फिर्ता पाउन माग गर्दै पिडित कुँवरले नुवाकोटकाे बिदुर प्रहरीमा उजुरी दिएका छन् । तर प्रहरीले पनि कुनै चासो नै नदिएको पिडितहरुको गुनासो छ ।
पोलिक्लीनिकबाट नै गरिन्छ यस्तो अबैध काम
शुभम पोलिक्लीनिकको कार्यलयमा बसेर तारालालले बिभिन्न युवाहरुसँगबाट बिदेश पठाउने भन्दै अग्रिम पैसा लिने गरेका थिए तर बारम्बार पोलिक्लीनिकमा सम्पर्क गर्दा क्लीनिकले भने आफ्नो सम्लग्नता नरहेको भन्दै पन्छिने गरेको पिडित कुँवरले बताए । तारालालले तालिम गर्ने भन्दै युवाहरुबाट पैसा लिने गरेका थिए । उनले इजरायल जानका लागि ५ लाख खर्च लाग्ने र ११ महिनाको तालिम पछि राम्रो गर्न सके कमाइ पनि राम्रो हुने र काम पनि राम्रो पाइने भन्दै युवाहरुलाई आश्वासन दिएका थिए । तर अग्रिम पैसा लिएर फरार भए ।

ठगि गरेर फरार अभियुक्त एक बर्ष पछि बल्ल तल्ल फेला परे , अनि उनले १० दिन भित्र पैसा फिर्ता गर्ने भनेर पिडित उमाकान्तका दाजु नबिन कुँवरसँग कागज समेत गरे। तर उक्त कागज गरेको एक वर्ष बितिसक्दा समेत अहिले उनी सम्पर्कमा छैनन् । तारालाल र कुँवरबीच २०७२ साल माघ ४ गते हस्तलिखित कागज गरिएको छ । उनले कागज गर्नु भन्दा करिब १ वर्ष पहिला नै कुँवरसँग पैसा लिएका थिए ।
पैसा फिर्ता माग्दा धम्की , धेरै जनाको पैसा ठगि गरेका छन्
तारालाल बिश्वकर्मा सँगै पैसा लिने केहर गुरुङलाई सम्पर्क गर्दा उल्टै असभ्य भाषामा गाली गर्दैै धम्की दिने गरेको कुँवरले बताए । “पैसा लिएपछि रसिद समेत दिएन भोलिदिन्छु भन्दै टा¥यो, हामी त्यसपछि पटक पटक सम्पर्क पनि ग¥यो अनेक बाहाना बनाएर तर्कियो । रसिद सहकारीबाट ल्याउनुपर्छ भन्दै बानेश्वर कै एक सहकारीको फर्म समेत भराएको थियो तर त्यसपछि कहाँ गयो सम्पर्क छैन ।” पिडित कुँवरले भने, “तारालाल सँगै पैसा लिएको केआरसिंहलाई सम्पर्क गर्दा असभ्य भाषामा के गर्न सक्छस गर भन्दै धम्की दिने गरेको छ ।”
संगठित अपराधमा संलग्न तर प्रहरीले चासो दिएन, सीआइबीमा उजुरी गर्दा पनि कार्वाही भएन
नुवाकोटको बिदुर प्रहरीमा उजुरी दिएको लामो समय बित्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । प्रहरीमा अहिले सम्पर्क गर्दा खोजिकार्य जारी रहेको भन्ने गरेको छ । तारालाल स्थानीय नेता भएकाले पनि राजनीतिक प्रभावमा परेर प्रहरीले कार्वाही गर्न नसकेको बताइएको छ । फरार तारालाल बिजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा आबद्ध रहेका छन् । उनी दोस्रो संविधान सभामामा गच्छदारको पार्टीबाट नुवाकाेट क्षेत्र नं ३ बाट उठेका थिए ।

राजनीतिक प्रभाब र दबाबमा परेर प्रहरीले पिडितहरु प्रति खासै चासो नदिएको उनीहरु बताउँछन् । प्रहरीले तिब्र रुपमा खोजि कार्य जारी रहेको जनाए पनि स्थानीयका अनुसार निज तारालाल नुवाकोट सामरी ४ मा रहेको घर जाने आउने गरेका छन् ।
रित पूर्वक ठगी बारेको उजुरी दर्ता गर्दा समेत प्रहरीले लामो समय सम्म पनि कुनै कार्वाही नगरेपछि केन्द्रिय प्रहरी अनुसन्धान ब्युरो सिआइबीमा पनि उजुरी दिएपनि कुनै कार्वाही भने हुन सकेको छैन । जब की ठगी गर्ने तारालाल र केहर गुरुङ काठमाडौँ मै खुलेआम घुम्दै आएका छन् । सिआइबीले कागजातको सम्पूर्ण सक्कल जाँच समेत गरेर फोरम लोकतान्त्रिकमा प्रतिनिधिलाई समेत कार्यालय कै बोलाइर सोधपुछ गरेपनि पछि कोही सम्पर्कमा आएनन् । त्यसपछि सिआइबीले समेत प्रक्रिया अगाडि नबढाएको पिडित कुँवरले बताए ।

केही समय अघि सम्म फेसबुकमा सक्रिय रहेका तारालाल अहिले भने एकाउण्ट नै बन्द गरेर बेपत्ता छन् , फोन पनि बन्द गरिएको छ। उनी पहिले बस्दै आएको डेराबाट समेत सरेका छन् । नयाँ बानेश्वरमा रहेको शुभम पोलिक्लिनिकमा बसेर तारालाले पैसा लिने गरेका थिए । त्यही क्लीनिकको आडमा उनले सोझा युवाहरु धेरैलाई फसाएको पिडितहरुको गुनासो छ । शुभम् पोलिक्लिनिकले बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
यो समाचार हामीलाई मेडिया एनपी डटकम बाट प्राप्त भएको हो |


