स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

महेन्द्रनगर (धनुषा), ६ फागनु । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् ।

आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् ।
अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन् । धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन् ।

खोप तथा पोलियो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । धर्नाका कारण करिब दुई लाख बालबालिका खोप कार्यक्रमबाट वञ्चित भएका छन् । धर्नाका कारण अञ्चल अस्पताल जनकपुरसहित पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ स्वास्थ्य चौकी र जनकपुरमा रहेका सहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।