पर्यटन प्रवर्धनका लागि १ करोड भन्दा बढी खर्चदै धनकुटा नगरपालिका !
धनकुटा खबर, फागुन २३ । धनकुटा बजार संगै रहेको चुलिवन र देउराली डाँडालाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्न धनकुटा नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ सम्ममा एक करोड भन्दा बढी खर्चने भएको छ ।
यसै क्रममा चालु आर्थिक बर्षमा चुलिवन र देउराली डाँडालाई पर्यटन क्षेत्रका गरी धनकुटाको पर्यटन प्रवर्धन गर्न धनकुटा नगरपालिकाले ५० लाख खर्च गर्ने भएको छ ।
धनकुटा सदरमुकामको बजार क्षेत्र देखि दक्षिणी क्षेत्रमा रहेको यस पर्यटकीय क्षेत्रमा २०६८ साल देखि हाल सम्म तीन चरण गरी ४६ लाख ४० हजार लागतमा बिभिन्न भौतिक संरचना निर्माण गरेपनि कार्ययोजनाको अभावमा गएको दुई आर्थिक बर्ष काम हुन सकेको थिएन ।

पर्यटकीय क्षेत्र चुलीवनको देउरालीमा दृष्यपान गर्दै एक यूवा जोडी
तर २०७२ सालमा पन्चबर्षिय योजना बनेपछि भने यस आर्थिक बर्ष देखि उक्त आयोजना निरन्तरताका लागि रकम बिनियोजन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत डम्बर रौंगुले जानकारी दिए ।
उक्त क्षेत्रको तीन सामुदायीक वनको सहकार्यमा अघिल्लो आवमा रकम खर्च गरेपनि कार्ययोजना नहुंदा आर्थिक बर्ष ०७१÷०७२ र ०७२÷०७३ मा ९० लाख बरावरको योजना कार्यान्वयन हुन सकेको थिएन ।
चालु आव देखि ‘रामलिहाङ÷रिदिमा चुलिवन पर्यटन क्षेत्र’ नामक संस्थाको सहकार्यमा उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न निरन्तर खर्च गरिने नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले जानकारी दिए ।
चालु आर्थिक बर्षको लगानी संगै कुल ९६ लाख ४० हजार खर्च गरेको धनकुटा नगरपालिकाले २५ औं परिषद्बाट आगामी आर्थिक बर्ष ०७४÷०७५ का लागि समेत ५८ लाख ४७ हजार बिनियोजन गरिसकेको छ ।


