कञ्चनपुर घटनाप्रति सरकारको विरोध : भारत र नेपालका अधिकारीबीच तीनबुँदे सहमति

कञ्चनपुर घटनाप्रति सरकारको विरोध

काठमाडौँ, २६ फागुन । सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति स्तब्ध भएको जनाएको छ ।

गृह मन्त्रालयले आज साँझ विज्ञप्तिमार्फत नेपाल भारतबीच सहज आवागमनका लागि पूर्व सहमतिअनुरुप निर्मित कल्भर्ट सरोकार भएकासँग कुनै छलफल संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपालीलाई गोली प्रहार भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार भारतका सीमा रक्षकले आवेगमा प्रहार गरेको गोली लागेर घाइते भएका गोविन्द गौतमको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटामा नै निधन भएको थियो । मन्त्रालयले अनपेक्षित घटनाबाट ज्यान गुमाउनुभएका गौतमको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्थानीय जनसमुदायलाई संयमित बनी धैर्यधारण गर्न अनुरोध गर्दै मन्त्रालयले सो विषयमा कूटनीतिक तवरबाटै सबै समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालीका ८ का अन्ताजी २६ बर्षिय गोविन्द गौतमको आज दिउसो भारतीय शुरक्षाकर्मीले हानेको गोली लागि मृत्यु भएपछि घटना बारे जानकारी लिन त्यस तर्फ जादै प्रमुख जिल्ला अधिकारी सहितको शुरक्षाकर्मीहरुको टोली । तस्बिर- राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर रासस

पुनर्वास नगरपालिका–८ आनन्दनगर नजिक नेपाल–भारत सिमानामा दुई देशका स्थानीय अधिकारीबीच यही फागुन १० गते भएको सहमतिअनुसार नगरपालिकाले कच्ची कल्भर्ट बनाएको थियो । उक्त कल्भर्टलाई बुधबार भारतीय पक्षले भत्काएका विषयमा आज त्यसको स्वतःस्फुर्त विरोध भएको थियो । दुवै पक्षबीच भएको विवादमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले एक्कासि फायर गरेको जनाइएको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयले भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको ज्यान गएकामा दुःख व्यक्त गर्दै घटनाको भत्र्सना गरेको छ । मन्त्रालयले आज साँझ विज्ञप्ति प्रकाशन गरी उक्त घटनाका सम्बन्धमा अत्यन्तै गम्भीरताका साथ कूटनीतिक पहलबाट समस्याको समाधान गर्न भारत सरकारसमक्ष आग्रह गरिएको जनाएको छ ।

मन्त्रालयले दोषीमाथि कारबाहीका लागि समेत आग्रह गरेको जानकारी गराउँदै सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई सामान्य बनाउनसमेत अनुरोध गरेकोे छ ।

भारत र नेपालका अधिकारीबीच तीनबुँदे सहमति

पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।

भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ ।

विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।