१६ वर्षपछि चिकित्सक आउँदा बाजागाजासहित स्वागत

बैतडी, ३ चैत । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर हुनुभएको हो ।

विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो ।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताउनुहुन्छ ।

मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच, डा कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयोे । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् ।”

सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।