श्रेणीविहीन पदमा स्नातकोत्तर उत्तीर्णको आवेदन

काठमाडौँ, ६ चैत । नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन् ।

काठमाडाँैस्थित आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन पुगेका हुन् ।

आयोग परिसरका गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका गुल्मी बल्लेटक्सारका निर्मल भण्डारी वनरक्षक र गेम स्काउटका लागि फाराम भरेको बताउनुभयो । उहाँले निजामती सेवामा प्रवेश गर्न आफूले आवेदन दिएको जानकारी दिनुभयो ।

“निजामतीमा प्रवेश गर्ने उमेर नाघ्न थालेकाले मैले वनरक्षक र गेम स्काउटमा जागिर खान आवेदन दिन आएको हुँ,” उहाँले भन्नुभयो, “अहिले श्रेणीविहीनमा जागिर खाएपछि माथिल्लो तहमा उमेरले छेकवार गर्दैन ।”

काठमाडौँका नाम चलेका कलेजमा पढाए मनग्य आम्दानी हुने गरे पनि निजामती सेवाको आकर्षणले गर्दा अहिले श्रेणीविहीन पदमै भए पनि जागिर खान मन लागेको उहाँ बताउनुहुन्छ ।

विगत दुई वर्षदेखि आयोगको परीक्षा दिँदै आएका भण्डारी यसअघि शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षासमेत दिइसक्नुभएको छ । “मैले शाखा अधिकृतको प्रथम चरणको परीक्षा पास गरेको छु । दोस्रो, तेस्रो र चौथो परीक्षा अझै बाँकी छ,” उहाँले भन्नुभयो – “ती अन्य परीक्षा पास हुने सुनिश्चित छैन । त्यसैले अहिले कम्तीमा श्रेणीविहीनमार्फत निजामतीमा प्रवेश गर्ने रहर छ ।”

आयोगकै परिसरका अछाम घर भएका अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका कल्याण बजगार्इं पनि वनरक्षक र गेम स्काउटका लागि आवेदन दिन पुगेका थिए । बजगाईं पनि निजामती सेवामा आफ्नो स्थान सुरक्षित गर्न श्रेणीविहीन पदमा आवेदन दिन आएको बताउनुहुन्छ ।

“कक्षा ८ उत्तीर्ण भए मात्र पुग्ने पदमा नाम निकालेर सजिलै निजामती सेवामा प्रवेश गर्ने ध्याउन्नाले आवदेन दिन आएको हुँ,” उहाँ भन्नुहुन्छ, “मेरो सानैदेखि निजामती सेवामा प्रवेश गर्ने रहर थियो ।” बजगाईंले यसअघि विद्यालय निरीक्षक, शाखा अधिकृत, नायब सुब्बा र खरिदारजस्ता पदमा आवेदन दिइसक्नुभएको छ । आयोगले फाराम बुझाउने अन्तिम दिन मङ्गलबारलाई तोकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।