सत्र वर्षदेखि साङ्लोमा बाँधिएका लीला उपचारपछि घर फर्किए
सुरुङ्गा (झापा), १४ चैत । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९ वर्षीय लीला चम्लागार्इं उपचारपछि आज घर फर्किएका छन् ।
मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत १७ वर्ष वर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए ।

सत्र वर्षदेखि साङ्लोमा बाँधिएका वाह्रदसी गाउँपालिका–३ स्थित राजगढका लीला चम्लागाँईको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा निःशुल्क उपचारपछि घर फर्कने क्रममा स्वास्थ्य अवस्था बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौँला र अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँ । तस्बिरः सुरेन्द्र भण्डारी,(सुरुङ्गा) झापा, रासस
राष्ट्रिय समाचार समिति (रासस)ले फागुन ३० गते १७ वर्षदेखि साङ्लोमा लीलाप्रसाद शीर्षकमा तस्बीर सहितको समाचार प्रकाशन गरेपछि उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागार्इंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
चैत १ गते अस्पताल भर्ना भएका लीलको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताउनुभयो ।
दुई सातासम्म अस्पतालमा डा बर्मासहितको चिकित्सक टोलीले उनको उपचारपछि आज लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ ।
सो अवसरमा उनको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताउनुभयो । उनमा बुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उहाँले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।
२०५४ सालमा जन्मिएका लीला बाल्य अवस्थादेखिनै बोल्दैनथे । उनको दाँहिने हातसमेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्नसक्ने भएको उनकी आमा जानुकाले बताईन् । उपचारपछि छोरो निको भएको भन्दै उहाँले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताउनुभयो ।


