एसिया कप छनोट फुटबल अन्तर्गत् नेपाल र फिलिपिन्स भिड्दै (लाइभ भिडियो)

काठमाडौं, चैत १५ । एसिया कप छनोट फुटबलअन्तर्गत् तेस्रो चरणको पहिलो खेलमा नेपालले अहिले फिलिपिन्ससँग खेलिरहेको छ ।
फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ ।
नेपाली टोलीको सुरुआती एघारमा कप्तान विराज महर्जन नपर्दा भने मुख्य प्रशिक्षक ग्योतोकु कोजुले खेलाडीलाई परीक्षण गरेको देखिएको छ ।
विराजको ठाउँमा कमल श्रेष्ठलाई मौका दिइएको छ ।
सुरुआती ११ मा पर्न सफल खेलाडीहरुमा गोलरक्षक किरण चेम्जोङ, डिफेन्डरहरु रविन श्रेष्ठ, कमल श्रेष्ठ, आदित्य चौधरी र अनन्त तामाङ रहेका छन् ।
त्यस्तै, मिडफिल्डरहरुमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ र विमल घर्तीमगर रहेका छन् भने स्ट्राइकरमा अञ्जन विष्ट र भरत खवासलाई जिम्मा दिइएको छ । भरत खवासले नेपाली टिमको कप्तानी पनि गरिरहेका छन् ।
अनिल गुरुङ राष्ट्रिय टिममा नपरेपछि विराज महर्जनले नियमितरुपमा कप्तानी सम्हाल्ने अपेक्षा गरिएपनि प्रशिक्षक कोजुले अचम्ममा पारेका छन् ।
https://youtu.be/oe5pVSEIi_I


