राष्ट्रपति भण्डारी भारत प्रस्थान (भिडियो सहित)
राष्ट्रपति नयाँदिल्लीमा
काठमाडौँ, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
भिडियोः
राष्ट्रपति नयाँदिल्लीमा
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ ।
त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानुहुनेछ । रासस


