गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक धादिङमा भेटिए, एक मृत फेला

मलेखु, धादिङ, १३ वैशाख । गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको एक खोंचमा खसेर एक जना बेहोस भएको र अर्को मृत अवस्थामा फेला परेका दुई ताइवानी पर्यटक । बिना गाइड लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका उनिहरु गत फागुन २५ देखि हराइरहेका थिए । तस्बिर: सीताराम अधिकारी, धादिङ, रासस

लामो समयको खोजीपछि खोंचमा खसेर एकजना बेहोस भएको र अर्का एक जना मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो । एक्काइस वर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेको र १९ वर्षीया लिउ चेन चुनको निधन भएको छ ।

बुधबार बिहान रुबीभ्यालीअन्तर्गत पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा महिला ताइवानी पर्यटक लिउको शव भेटेपछि सँगै रहेको वनमा पुरुष पर्यटक लाइङलाई पनि फेला परेको खोजीका लागि निस्किएका दावा तामाङले जानकारी दिनुभयो ।

अचेत अवस्थामा रहेका लाइङको उद्धार प्रयास भइरहेको छ । उनी भिरमा अड्किएकाले बाहिर निकाल्न केही समय लाग्ने बताइएको छ । भिरको माथिबाट चिप्लिएर लडेको खोल्चामा पुगेकी महिलाको मृत्यु भएको तथा बीचमै अड्किएका पुरुष बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको गुरुङले जानकारी दिनुभयो । उनीहरु बिना पथप्रदर्शक लाङटाङ क्षेत्रमा पदयात्रामा गएका थिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जको अनुमति लिएर धादिङको तिप्लीङ क्षेत्रबाट उनीहरुको अन्तिम पटक परिवारसँग कुरा भएको परिवारले जनाएको थियो । उनीहरुको खोजीका लागि भारतमा रहेको ताइवानी दूतावासले पर्यटक प्रहरी इकाइमा निवेदनसमेत दिएको थियो । प्रहरीले भने लाङटाङ राष्ट्रिय निकुञ्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएको कागजात पाइएको बताएको थियो ।

गणेश हिमाल विकास समिति धादिङका अध्यक्ष तेज गुरुङका अनुसार ४७ दिनसम्म रुखमा अल्झिएर जीवितै रहेका लाइङ र मृत भेटिएकी लिउलाई हेलिकप्टर काठमाडौँ लैजाने प्रयास भइरहेको छ ।

एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते तिप्लिङको सो क्षेत्रमा पुगेको र होम स्टेमा बास बसेका उनीहरु हिमपात भइरहेको अवस्थामा निस्किएको बताइएको छ ।

यसैबीच, पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका–४ का आठ वर्षीय एक बालकको आजै डुबेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–१२ पशुपतिमा बस्दै आएका कृष नेपाली आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मी बढेकाले उनी साथीसँग पौडी खेल्न गएको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।